Banijya News

बाढीले १,८०० उद्योग–व्यवसायमा क्षति, व्यवसायीद्वारा ऋण पुनर्संरचना र बीमा भुक्तानीको माग

1
1.0K Shares

भोटेकोशी–त्रिशूली करिडोरमा भदौ १० गते आएको विनाशकारी बाढीले नुवाकोटको उद्योग तथा व्यवसाय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण जिल्लामा साना तथा ठूला गरी करिब १ हजार ८ सयभन्दा बढी उद्योग तथा व्यवसाय पूर्ण रूपमा क्षतिग्रस्त भएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ । बाढीबाट व्यवसाय नै गुमाएका उद्योगी–व्यवसायीले तत्काल राहतसँगै व्यवसाय पुनः सञ्चालनका लागि विशेष पुनरुत्थान कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् ।

बाढी प्रभावित उद्योगी–व्यवसायीले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसँगको छलफलमा आफूहरूले भोगिरहेको समस्या तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन् । उनीहरूले बाढीले उद्योग, मेसिनरी, सवारीसाधन, कच्चा पदार्थ तथा अन्य भौतिक संरचना बगाएपछि ठूलो आर्थिक संकटमा परेको बताएका छन् ।

व्यवसायीका अनुसार, बाढी प्रभावित अधिकांश उद्योग तथा व्यवसाय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सञ्चालन गरिएका थिए । उद्योग तथा व्यवसायसँगै लगानीका लागि प्रयोग भएका क्रसर, टिप्परलगायतका साधनसमेत बाढीले बगाएपछि ऋण तिर्ने क्षमता गुमेको उनीहरूको भनाइ छ ।

एक बाढीपीडित व्यवसायीले सरकारले प्रभावित व्यवसायीको ऋणको ब्याज मिनाहा गर्नुका साथै ऋण नवीकरणको व्यवस्था गर्नुपर्ने माग गरे । उनका अनुसार, खोलाछेउमा रहेका अधिकांश उद्योग तथा व्यवसाय बाढीले बगाएको छ ।

‘रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोटका साना–ठूला गरी एक हजार आठ सय उद्योग तथा व्यवसायमा क्षति पुगेको छ । केही उद्योगी शून्यमै पुगेका छन्। क्रसर, टिप्पर सबै बगाएको अवस्था छ,’ उनले भने, ‘सबै व्यवसाय बैंकमार्फत ऋण लिएर सञ्चालन गरिएका थिए । त्यसकारण सरकारले ऋणको ब्याज मिनाहा गरिदिनुपर्छ ।’

बाढीका कारण बीमा गरिएका उद्योग तथा व्यवसायका कागजातसमेत बगाएकाले बीमा दाबी भुक्तानीमा समस्या भइरहेको उनले बताए । बीमा दाबीको रकम सहज रूपमा उपलब्ध गराउन सके प्रभावित व्यवसायी पुनः व्यवसायमा फर्कन सक्ने उनको भनाइ छ । उद्योग तथा व्यवसायको बीमा गरे पनि सोसँग सम्बन्धित कागजसमेत बाँकी नरहेको भन्दै दाबी गरिएको रकम भुक्तानी भयो भने फेरि व्यवसायमा फर्कन सकिने उनले बताए ।

अर्का व्यवसायीले लामो समय विदेशमा काम गरेर कमाएको रकम स्वदेशमै व्यवसाय सञ्चालन गर्न लगानी गरेको तर बाढीले सबै सम्पत्ति नष्ट गरेपछि पुनः व्यवसाय सञ्चालन गर्ने आधारसमेत नरहेको बताए । उनले दीर्घकालीन नीति निर्माणसँगै तत्काल पुनरुत्थानको कार्यक्रम ल्याउन सरकारसँग माग गरे ।

उनले भने, ‘लामो समय विदेशमा दुःख गरेर कमाएको पैसाले स्वदेशमै केही गरौँ भनेर सानो व्यवसाय सुरु गरेको थिएँ । व्यवसाय विस्तारै उठ्दै थियो। यही समयमा बाढी आइदियो । अहिले हामीसँग केही पनि छैन । खेत, जमिनसमेत रहेन । अब व्यवसाय सञ्चालन गर्न राज्यको सहयोग चाहिन्छ ।’

बाढी प्रभावित अर्का व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कम्तीमा तीन वर्षका लागि नवीकरण गर्ने व्यवस्था गर्नुपर्ने माग गरे । साथै, बीमा दाबीको रकम कुनै झन्झटबिना तत्काल उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । उनले प्रभावित व्यवसायीलाई राहत तथा पुनरुत्थानका लागि निजी क्षेत्रको छुट्टै कोष निर्माण गर्नुपर्ने प्रस्तावसमेत राखे । संकटको समयमा सरकार, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले सहयोग गरे प्रभावित व्यवसायी पुनः व्यवसायमा फर्कन सक्ने उनले बताए ।

छलफलमा महासंघका पूर्वअध्यक्ष ढकालले बाढी प्रभावित निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले विपद्का कारण आफन्त सम्पर्कविहीन भएका तथा राहत नपाएका नागरिकको खोज, उद्धार र राहतलाई प्राथमिकतामा राखेर त्यसपछि व्यवसायगत समस्या समाधानतर्फ अघि बढ्नुपर्ने धारणा राखे ।

उनले बाढी प्रभावित नागरिक तथा व्यवसायीको समस्या समाधान गर्न राजनीतिक दल, सरकार र निजी क्षेत्र सबै मिलेर अघि बढ्नुपर्ने बताए । महासंघ प्रभावित उद्योगी–व्यवसायीको साथमा रहेको उल्लेख गर्दै उनले पुनरुत्थानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

ढकालले बाढीपीडित उद्योगी–व्यवसायीको ऋण तथा बीमासम्बन्धी समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीसँग छलफल गर्ने आश्वासनसमेत दिए । उनले बैंक तथा बीमा क्षेत्रबाट प्रभावित व्यवसायीलाई सम्भव सहयोग उपलब्ध गराउन पहल गर्ने बताए ।

बाढीले भौतिक संरचना मात्रै नभई ठूलो मात्रामा निजी लगानीसमेत नष्ट गरेपछि प्रभावित व्यवसायीहरू तत्काल आर्थिक राहत, ऋण पुनर्संरचना, ब्याज छुट तथा बीमा दाबीको शीघ्र भुक्तानीको पर्खाइमा छन् । व्यवसायीहरूले सरकारी तथा वित्तीय क्षेत्रबाट समयमै सहयोग पाएमा बाढीले तहसनहस बनाएको उद्योग–व्यवसाय क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउन सकिने बताएका छन् ।

1

Scroll to Top