भोटेकोशी–त्रिशूली नदीमा गत भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बीमितलाई स्वास्थ्य बीमा सेवामा लाग्दै आएको सहभुक्तानी हटाइएको छ ।
स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित तीन जिल्लाका बीमितलाई राहतस्वरूप स्वास्थ्य उपचारमा लाग्ने सहभुक्तानी (कोपेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेर विशेष सुविधा दिने भएको हो ।
बोर्डका अनुसार, स्वास्थ्य बीमा सेवा सहज रूपमा सञ्चालन गरी प्रभावित नागरिकलाई उपचारमा सहजीकरण गर्न तोकिएको समयावधिसम्म तीनवटै जिल्लाका स्वास्थ्य बीमा सेवा प्रदायक संस्थामा सहभुक्तानी तथा क्यापिङ नलिने व्यवस्था गरिएको छ ।
त्यस्तै, स्वास्थ्य बीमा परिचयपत्र साथमा नभएका बीमितले पनि उपचार सेवा पाउने भएका छन् । परिचयपत्र नभएको अवस्थामा सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको आइएमआइएस प्रणालीमार्फत बीमा नम्बर यकिन गरी स्वास्थ्य बीमा सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सामान्य अवस्थामा बीमितले उपचार गराउँदा लाग्ने खर्चको १० प्रतिशत रकम आफैंले भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर, बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका बीमितका लागि उक्त सहभुक्तानी हटाइएको हो ।

