Banijya News

डिजिटल कारोबारमा ठगीको जोखिम बढ्दो, सुरक्षित प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको प्रयोग बढेसँगै त्यसबाट उत्पन्न हुनसक्ने जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । बैंकिङ सेवा, मोबाइल वालेट, क्यूआर भुक्तानीलगायतका डिजिटल माध्यमबाट कारोबार गर्दा आवश्यक ज्ञान, सीप र सही निर्णय क्षमता विकास गर्न केन्द्रीय बैंकले जोड दिएको हो ।

राष्ट्र बैंकले बुधबार भदौ २४ गते जारी गरेको वित्तीय चेतनासम्बन्धी सन्देशमार्फत डिजिटल वित्तीय साक्षरतालाई सुरक्षित डिजिटल कारोबारको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ । डिजिटल वित्तीय सेवाबाट प्राप्त हुने सुविधा मात्र नभई त्यससँग सम्बन्धित जोखिम, शुल्क, सेवा सर्त र ग्राहकका अधिकारबारे समेत जानकारी राख्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

केन्द्रीय बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाले फोन, इमेल वा सन्देशमार्फत ग्राहकसँग ओटीपी, पिन, पासवर्ड वा अन्य गोप्य विवरण माग्दैनन्। त्यसैले यस्ता संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन सर्वसाधारणलाई सचेत गराइएको छ ।

पछिल्लो समय फिसिङ, भिसिङ र स्मिसिङलगायतका माध्यमबाट डिजिटल ठगीका घटना हुनसक्ने भन्दै राष्ट्र बैंकले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विभिन्न अनलाइन सेवा तथा एपको प्रयोग बढिरहेको अवस्थामा बैंक खाता, कार्ड नम्बर, पासवर्ड, ओटीपीलगायतका वित्तीय विवरण अनधिकृत प्लेटफर्ममा साझा नगर्न समेत अनुरोध गरिएको छ ।

राष्ट्र बैंकले डिजिटल खाता तथा उपकरण सुरक्षित राख्न बलियो र फरक–फरक पासवर्ड प्रयोग गर्न तथा सम्भव भएसम्म बहुकारक प्रमाणीकरण (एमएफए) सक्रिय गर्न सुझाव दिएको छ । मोबाइल बैंकिङ र डिजिटल वालेट प्रयोग गर्दा आधिकारिक एप मात्र डाउनलोड तथा प्रयोग गर्न र सार्वजनिक वाइफाइबाट वित्तीय कारोबार नगर्न पनि आग्रह गरिएको छ ।

त्यस्तै, कुनै डिजिटल वित्तीय सेवा प्रयोग गर्नुअघि सम्बन्धित सेवा प्रदायकको विश्वसनीयता जाँच गर्न, शंकास्पद लिंक तथा सन्देश नखोल्न र अत्यधिक आकर्षक प्रस्तावमा हतारमा विश्वास नगर्न राष्ट्र बैंकले भनेको छ ।

अनधिकृत कारोबार वा शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराउन समेत आग्रह गरिएको छ । डिजिटल वित्तीय ज्ञान अभिवृद्धि गर्दै सुरक्षित, सचेत र जिम्मेवार डिजिटल कारोबारको संस्कार विकास गर्नुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ ।

1

Scroll to Top