सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घर निर्माण तथा व्यक्तिगत सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ५.९९ प्रतिशत स्थिर ब्याजदरमा दुईवटा कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले ‘सजिलो घर कर्जा’ अन्तर्गत वार्षिक ५.९९ प्रतिशत ब्याजदर पाँच वर्षसम्म स्थिर रहने जनाएको छ । त्यस्तै, व्यक्तिगत सवारीसाधन कर्जामा पनि ५.९९ प्रतिशत ब्याजदर तीन वर्षसम्म स्थिर रहनेछ ।
स्थिर ब्याजदर कायम रहने अवधिभर बजारमा ब्याजदर घटबढ भए पनि ग्राहकले लिएको कर्जाको ब्याजदर परिवर्तन नहुने बैंकले जनाएको छ । स्थिर अवधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५५ प्रतिशत प्रिमियम थप गरी नयाँ ब्याजदर निर्धारण गरिनेछ ।
‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नारासहित बैंकले घर कर्जा योजना ल्याएको हो । कर्जा लिन इच्छुक ग्राहकले बैंकका नजिकका शाखामा सम्पर्क गर्न सक्नेछन् ।
पछिल्लो समय बैंकले डिजिटल तथा लक्षित ग्राहक समूहका लागि विभिन्न सेवा विस्तार गर्दै आएको छ । फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, युवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
हाल बैंकले ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजार ग्राहकलाई सेवा दिइरहेको छ ।

