Banijya News

विपद्पछिको आवश्यकता आकलन र पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेको छलफल

1
1.0K Shares

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीपछिको पुनरुत्थान, क्षति मूल्यांकन र आवश्यकता आकलनका विषयमा विकास साझेदारहरूसँग छलफल थालेका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा बुधबार सुरु भएको स्थानीय विकास साझेदारहरूको बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टर सहभागी छन् ।

बैठक जारी रहेकाले छलफलबाट प्राप्त निष्कर्ष तथा विकास साझेदारबाट हुन सक्ने सहयोगको विवरण सार्वजनिक भइ नसकेको बताइएको छ ।

बैठकमा रसुवा बाढीपछि सञ्चालन गरिएका खोज तथा उद्धार कार्य र प्रारम्भिक पुनरुत्थानको अवस्थाबारे समीक्षा गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने स्रोत–साधन, पुनर्स्थापना र अत्यावश्यक पूर्वाधार सञ्चालनका लागि अपनाउनुपर्ने प्राथमिकतामाथि पनि सरोकारवालाबीच छलफल हुने बताइएको छ । अर्थमन्त्री वाग्लेले यसअघि विपद्को उद्धार, राहत र पुनर्निर्माणमा स्रोतको अभाव हुन नदिने बताएका थिए ।

छलफलको मुख्य कार्यसूचीमा द्रुत विपद् आवश्यकता आकलन र क्षतिको यथार्थ मूल्यांकन समावेश गरिएको छ । प्रभावित क्षेत्रको भौतिक, सामाजिक तथा आर्थिक क्षतिको तथ्यगत आकलन गरी पुनरुत्थान र पुनर्निर्माणका प्राथमिकता निर्धारण गर्न बैठकले आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

यसैगरी, बैठकमा सहभागी दातृ निकायका मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरसँग पुनरुत्थानका प्राथमिक क्षेत्र, सम्भावित सहायता र स्रोत परिचालनका विषयमा पनि छलफल हुनेछ ।

द्रुत आवश्यकता आकलनबाट प्राप्त विवरणका आधारमा सरकार र विकास साझेदारबीच पुनरुत्थान तथा पुनर्निर्माणका कार्यक्रम समन्वय गर्ने अर्थ मन्त्रालयको तयारी छ ।

1

Scroll to Top