Banijya News

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

1
1.1K Shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले आज विहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष आफ्नो पदबाट राजीनामा बुझाएकी हुन् ।

मन्त्री यादवले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको जानकारी प्राप्त भए पनि राजीनामाको कारण भने हालसम्म सार्वजनिक गरिएको छैन । उनको राजीनामासँगै सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वबारे पनि चर्चा सुरु भएको छ ।

यद्यपि, प्रधानमन्त्री शाहले राजीनामा स्वीकृत गरे/नगरेको तथा मन्त्रालयको आगामी जिम्मेवारीबारे औपचारिक जानकारी सार्वजनिक हुन बाँकी छ ।

मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।

बुधबार बिहान उद्योग समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले भनेकी थिइन् ‘अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज हुँदैन ।’

उनी त्यतिमै मात्रै रोकिएकी थिइनन् । उनले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्नेसम्म बताएकी थिइन् । ‘देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, २ वटा मात्रै भए पुग्छ’, उनले भनेकी थिइन् ।

यतिबेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम हाहाकार छ । उपभोक्ताहरू एउटा सिलिन्डर ग्यास पाउन दिनरात लाइनमा बस्न बाध्य छन्, भने अर्कोतिर ग्यास पाइहाले पनि २ हजार ६० रुपैयाँ पर्ने ग्यासलाई ३ हजार रुपैयाँसम्म तिर्न बाध्य छन् ।

नेपाल आयल निगम र उद्योग मन्त्रालय आफैंले पालैपालो ग्यास आइरहेको तथ्यांक सार्वजनिक गर्छन् । तर, सरकारले अनलाइनमा सार्वजनिक गर्ने तथ्यांकजस्तो छैन, बजारको अवस्था । उपभोक्ताहरु घण्टौं लाइन बस्दा पनि ग्यास नपाउने अवस्था छ ।

लामो समयदेखि चुलिएको ग्यास अभावलाई हालै देशमा परेको विपत्तिले झन् चुनौती थपेको छ । १४ भदौदेखि कृष्णभिरमा सडक भासिँदा पर्याप्त मात्रामा ग्यास भित्रिएको छैन । वैकल्पिक मार्गबाट आएको ग्यास पनि उपभोक्ताले सहज रूपमा नपाउँदा जटिल बनेको अवस्थालाई सरकारले व्यवस्थापन गर्न सकेको छैन ।

बजार व्यवस्थापन र समस्या समाधानका लागि रातदिन खटेर काम गर्नुपर्ने मन्त्री यादवले भने समस्याको समाधानभन्दा पनि भड्कावपूर्ण अभिव्यक्ति दिएकी थिइन् । उद्योग समिति बैठकमा मन्त्री यादवले धम्की दिएपछि उद्योगी र सरकारबीच टकराव बढेको थियो ।

1

Scroll to Top