हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लगानी विविधीकरण गर्ने रणनीतिअन्तर्गत दुई फरक क्षेत्रमा कुल ४० करोड रुपैयाँ दीर्घकालीन लगानी गर्ने भएको छ ।
कम्पनीको २३५औँ सञ्चालक समितिको बैठकले चिनी उद्योग र जलविद्युत् क्षेत्रमा संस्थापक सेयर खरिदमार्फत लगानी गर्ने निर्णय गरेको हो । कम्पनीले विजय श्री सुगर मिल्स लिमिटेडमा २५ करोड रुपैयाँ र भिजन टेस्ला पावर प्रालिद्वारा प्रवद्र्धित जलविद्युत् आयोजनामा १५ करोड रुपैयाँ लगानी गर्नेछ ।
चिनी उद्योगतर्फ हाथवेले विजय श्री सुगर मिल्सको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ । यसका लागि कम्पनीले अधिकतम २५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।
त्यस्तै, ऊर्जा क्षेत्रतर्फ संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन २४.९२१ मेगावाट क्षमताको ‘इन्दुवा खोला पीआरओआर हाइड्रोपावर प्रोजेक्ट’ मा १५ करोड रुपैयाँसम्म लगानी गरिनेछ । आयोजनामा भिजन टेस्ला पावर प्रालिले प्रवद्र्धन गरिरहेको छ । हाथवेले आयोजनाको प्रतिसेयर १०० रुपैयाँ दरका १५ लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ ।
कम्पनीका अनुसार लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्दै दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने उद्देश्यले यी क्षेत्रमा लगानी विस्तार गरिएको हो । लगानीसम्बन्धी निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई गराइसकिएको कम्पनी सचिव सुधा अर्यालले जानकारी दिएकी छन् ।


