राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थानबीच तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानीसम्बन्धी समझदारी भएको छ । सम्झौताअनुसार बैंकले सांस्कृतिक संस्थानका कर्मचारीका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन गर्नेछ ।
कर्मचारीले सहुलियत दरमा अन्य बैंकिङ सेवासुविधासमेत प्राप्त गर्ने बैंकले जनाएको छ । यसबाट संस्थानका कर्मचारी लाभान्वित हुनुका साथै बैंकको व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बिहीबार बैंकको सिंहदरबारप्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेल र पवन रेग्मीसहित बैंक तथा सांस्कृतिक संस्थानका अधिकारीहरूको उपस्थिति थियो ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभर ३१६ शाखा र ३३८ एटीएममार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जा, मोबाइल बैंकिङलगायत सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

