Banijya News

फाइनान्स कम्पनीमा कर्जा असुली समस्या बढ्यो, छ कम्पनीको खराब कर्जा १० प्रतिशत माथि

1
1.1K Shares

बैंक तथा वित्तीय क्षेत्रमा कर्जा असुलीको समस्या बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर फाइनान्स कम्पनीहरूमा समेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश फाइनान्स कम्पनीको कर्जा गुणस्तर कमजोर बनेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार, सञ्चालनमा रहेका १४ फाइनान्स कम्पनीको औसत खराब कर्जा अनुपात ७.६६ प्रतिशत पुगेको छ । तीमध्ये नौवटा कम्पनीको खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा माथि छ भने छवटा कम्पनीको खराब कर्जा १० प्रतिशतभन्दा बढी पुगेको छ । अपरिष्कृत वित्तीय विवरण भएकाले अन्तिम लेखापरीक्षणपछि तथ्यांकमा केही परिवर्तन हुन सक्ने भए पनि अहिले देखिएको अवस्थाले फाइनान्स क्षेत्रमा बढ्दो जोखिम संकेत गरेको छ ।

कर्जाको ठूलो हिस्सा समस्याग्रस्त बन्दा त्यसको असर ब्याज आम्दानी, नाफा, नोक्सानी व्यवस्थापन, जगेडा तथा पूँजी पर्याप्ततामा पर्न सक्छ । त्यसैले खराब कर्जाको बढ्दो अनुपात फाइनान्स कम्पनीका लागि महत्वपूर्ण वित्तीय चुनौती बनेको छ ।

सबैभन्दा गम्भीर अवस्था जानकी फाइनान्समा देखिएको छ । कम्पनीको कुल कर्जामध्ये ६१.५५ प्रतिशत खराब कर्जामा परिणत भएको छ । खराब कर्जा उच्च हुनुका साथै कम्पनीको प्राथमिक पूँजी र कुल पूँजीकोषसमेत ऋणात्मक अवस्थामा पुगेका छन्। दुवैमा २५ करोड २७ लाख रुपैयाँभन्दा बढीको नकारात्मक अवस्था देखिएको छ ।

जानकी फाइनान्सको प्राथमिक तथा कुल पूँजी पर्याप्तता अनुपात ऋणात्मक ६.१४ प्रतिशतमा झरेको छ । ६९ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको पूँजी आधार नै नकारात्मक बन्नुले सञ्चित क्षतिले वित्तीय संरचनामा गहिरो असर गरेको देखाउँछ ।

कम्पनीको कर्जा–निक्षेप अनुपातसमेत ९८.५७ प्रतिशत पुगेको छ । नियामकीय व्यवस्थाअनुसार यस्तो अनुपात ९० प्रतिशतभन्दा माथि जान हुँदैन । खराब कर्जा उच्च हुनु, पूँजी कमजोर बन्नु र स्रोत परिचालनमा दबाब पर्नुले जानकी फाइनान्सलाई एकैपटक विभिन्न वित्तीय जोखिमको सामना गर्नुपरेको देखिन्छ ।

खराब कर्जाका आधारमा जानकीपछि पोखरा फाइनान्सको अवस्था पनि चिन्ताजनक छ । कम्पनीको गैरनिष्पादित कर्जा २०.८४ प्रतिशत पुगेको छ । अर्थात् कम्पनीले प्रवाह गरेको प्रत्येक पाँच रुपैयाँमध्ये करिब एक रुपैयाँभन्दा बढी कर्जा समस्याग्रस्त बनेको अवस्था छ ।

पोखरा फाइनान्सको चुक्तापूँजी एक अर्ब ९० करोड रुपैयाँ रहे पनि प्राथमिक पूँजी ४८ करोड १३ लाख रुपैयाँमा सीमित छ । कम्पनीको प्राथमिक पूँजी पर्याप्तता अनुपात ७.१४ प्रतिशत र कुल पूँजी पर्याप्तता अनुपात १२.७७ प्रतिशत रहेको छ । आगामी दिनमा कर्जा असुली कमजोर रहे थप नोक्सानी व्यवस्था गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसको असर कम्पनीको मुनाफा तथा लाभांश क्षमतामा पर्न सक्छ ।

त्यस्तै, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, गोर्खाज फाइनान्स र सेन्ट्रल फाइनान्समा पनि खराब कर्जा उच्च देखिएको छ । नेपाल फाइनान्सको खराब कर्जा अनुपात १३.८३ प्रतिशत, बेस्ट फाइनान्सको १३.६९ प्रतिशत, गोर्खाज फाइनान्सको १३.३२ प्रतिशत र सेन्ट्रल फाइनान्सको १०.४० प्रतिशत रहेको छ ।

पाँच प्रतिशतभन्दा माथि खराब कर्जा रहेका अन्य कम्पनीमा गुडविल फाइनान्स, रिलायन्स फाइनान्स तथा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स छन् । यी कम्पनीको खराब कर्जा क्रमशः ६.२७ प्रतिशत, ६.५५ प्रतिशत र ५.२० प्रतिशत रहेको छ ।

तर सबै फाइनान्स कम्पनीको कर्जा गुणस्तर कमजोर भने छैन । आईसीएफसी फाइनान्सको खराब कर्जा १.५५ प्रतिशतमा सीमित छ । प्रोग्रेसिभ फाइनान्सको ३.०१ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ३.३० प्रतिशत, मञ्जुश्री फाइनान्सको ३.४२ प्रतिशत र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको ३.७४ प्रतिशत रहेको छ ।

समग्रमा १४ फाइनान्स कम्पनीले असार मसान्तसम्म एक खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । सोही अवधिमा उनीहरूले एक खर्ब सात अर्ब ३६ करोड रुपैयाँ कर्जा परिचालन गरेका छन् । यस आधारमा समग्र कर्जा–निक्षेप अनुपात ७५.२१ प्रतिशत रहेको छ । औसत खुद तरलता ३४.७२ प्रतिशत रहेको छ, जुन नियामकीय न्यूनतम सीमाभन्दा माथि हो ।

त्यस्तै, १४ कम्पनीको औसत प्राथमिक पूँजी पर्याप्तता अनुपात ११.६० प्रतिशत र कुल पूँजी पर्याप्तता अनुपात १४.३६ प्रतिशत रहेको छ । औसत तथ्यांक हेर्दा फाइनान्स क्षेत्र समग्र रूपमा नियामकीय सीमाभित्र देखिए पनि कम्पनीगत अवस्था भने निकै फरक छ । अत्यधिक कमजोर कम्पनीको अवस्था औसत तथ्यांकमा लुक्न सक्ने भएकाले व्यक्तिगत संस्थाको वित्तीय स्वास्थ्य हेर्नुपर्ने देखिन्छ ।

यसैबीच, समस्याग्रस्त संस्थाका रूपमा रहेका नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स तथा क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको अवस्था अझ गम्भीर छ । दुवै संस्थाको खराब कर्जा अनुपात शतप्रतिशत पुगेको छ । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्समा करिब २१ करोड ९१ लाख रुपैयाँ निक्षेप रहेकामा कर्जा दुई अर्ब १५ करोड रुपैयाँभन्दा बढी छ । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा दुई करोड ७२ लाख रुपैयाँ निक्षेप हुँदा कर्जा ६६ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

समग्र तथ्यांकले फाइनान्स कम्पनीमा कर्जा असुली सुधार, खराब कर्जा नियन्त्रण र पूँजी आधार बलियो बनाउने चुनौती थप गम्भीर बनेको देखाएको छ ।

1

Scroll to Top