Banijya News

उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्ने तयारी

1
1.0K Shares

उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै रिक्त मन्त्री पदमा इन्जिनियर दीपककुमार साहलाई नियुक्त गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार, सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहलाई उद्योगमन्त्री बनाउने तयारी भएको हो ।

प्रधानमन्त्री शाहले रिक्त रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सुम्पिन इन्जिनियर दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । सचिवालयका अनुसार, राष्ट्रपतिबाट नियुक्ति स्वीकृत भएसँगै आजै (बिहीबार) साँझ नवनियुक्त मन्त्री साहको पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भइरहेको छ ।

यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि उद्योग मन्त्रालय मन्त्रीविहीन बनेको छ । ग्यासको संकट गहिरिँदै जानुका साथै विवादित अभिव्यक्तिका कारण चर्को आलोचनामा परेकी मन्त्री यादवले आज विहीबार नै राजीनामा दिएकी थिइन् ।

साहलाई उद्योगमन्त्री बनाउने तयारीसँगै उनी निर्वाचन क्षेत्रबाट काठमाडौँ फर्किएका हुन् । मन्त्रीमा सिफारिस भएका ४९ वर्षीय इन्जिनियर साह पुल्चोक क्याम्पसका मेकानिकल इन्जिनियर हुन् । जलविद्युत्, पूर्वाधार र नीतिगत क्षेत्रमा लामो प्राविधिक अनुभव बोकेका साहलाई उद्योग मन्त्रालयको कमान्ड सुम्पिएर निजी क्षेत्र र मन्त्रालयबीचको सम्बन्ध सुधार गर्ने रणनीति प्रधानमन्त्री शाह र रास्वपा नेतृत्वले लिएको बताइएको छ ।

1

Scroll to Top