Banijya News

बीमा कम्पनीमाथि कडाइ, संस्थागत विवरण सार्वजनिक गर्न प्राधिकरणको निर्देशन

1
1.0K Shares

नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन गर्न सबै इजाजतपत्र प्राप्त बीमकलाई संस्थागत तथा नियामकीय विवरण वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको छ ।

प्राधिकरणको सम्पत्ति शुद्धीकरण निवारण शाखाले पुस २४ गते सबै बीमकलाई पत्राचार गर्दै आफ्नो संस्थासँग सम्बन्धित महत्वपूर्ण विवरण अद्यावधिक गरी सार्वजनिक रूपमा उपलब्ध गराउन आग्रह गरेको हो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३५ग मा भएको व्यवस्थाअनुसार बीमकले आवश्यक संस्थागत तथा नियामकीय विवरण सार्वजनिक गर्नुपर्ने भएकाले सोही व्यवस्थाको कार्यान्वयनका लागि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, बीमकले आफ्नो केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालयको स्पष्ट ठेगाना वेबसाइटमा राख्नुपर्नेछ । सम्बन्धित कार्यालयका प्रमुखको विवरण, बीमकको दर्ता मिति र इजाजतपत्र नम्बरसमेत सार्वजनिक गर्नुपर्नेछ ।

त्यसैगरी, बीमकको सञ्चालक समितिका सदस्यहरूको नाम तथा नामेसी विवरण वेबसाइटमा अद्यावधिक गर्नुपर्नेछ । बीमकअन्तर्गत गठन भएका अन्य समितिका पदाधिकारीहरूको परिचय खुल्ने विवरणसमेत सार्वजनिक गर्न प्राधिकरणले निर्देशन दिएको छ । अन्य प्रचलित कानुनले सार्वजनिक गर्नुपर्ने भनी तोकेका विवरण भए ती विवरण पनि वेबसाइटमा उपलब्ध गराउनुपर्नेछ ।

यसैगरी, बीमकले आफ्नो कानुनी स्वरूप, कार्यक्षेत्र र संस्थागत परिचय स्पष्ट हुने गरी संक्षिप्त विवरणसमेत सार्वजनिक गर्नुपर्नेछ । साथै, बीमकलाई नियमन गर्ने निकाय र नियमनसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी पनि वेबसाइटमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ ।

यसअन्तर्गत बीमा ऐन, बीमा नियमावली तथा नेपाल बीमा प्राधिकरणबाट जारी भएका सम्बन्धित निर्देशन र मार्गदर्शनलाई समेत समेट्नुपर्नेछ । प्राधिकरणले बीमकहरूलाई वेबसाइटमा रहेका विवरण नियमित रूपमा अद्यावधिक गरी सर्वसाधारणले सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

1

Scroll to Top