Banijya News

भोटेकोशी बाढीपछि विश्वभर फैलिएको भ्रम चिर्दै ‘नेपाल सुरक्षित छ’ अभियान तीव्र

1
1.1K Shares

रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी हिमबाढीपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालबारे फैलिएको नकारात्मक र भ्रमपूर्ण सन्देश चिर्न पर्यटन क्षेत्रले प्रवर्द्धनात्मक अभियान तीव्र बनाएको छ । बाढीबाट देशको सीमित भूभाग मात्र प्रभावित भएको र अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको तथ्य विश्वभर पुर्‍याउँदै सरकारी तथा निजी क्षेत्रले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गर्न थालेका छन् ।

नेपालको मुख्य पर्यटकीय सिजन सुरु हुनै लागेका बेला भोटेकोशी बाढीले विदेशी पर्यटकमा सिर्जना गरेको अन्योल हटाउन पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, होटल व्यवसायी, वायुसेवा सञ्चालक तथा अन्य निजी क्षेत्रका संस्थाहरूले संयुक्त रूपमा काम अघि बढाएका हुन् ।

सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई नेपालमा विदेशी पर्यटकको प्रमुख भ्रमण सिजन मानिन्छ । यही समयमा आएको विपद्का कारण सम्भावित पर्यटकले नेपाललाई असुरक्षित ठान्न सक्ने जोखिम बढेपछि पर्यटन क्षेत्रले सकारात्मक सन्देश प्रवाहलाई प्राथमिकता दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले पाँच दिनअघि ‘नेपाल इज कलिङ’ अभियान सुरु गर्दै विश्वभरका पर्यटकलाई नेपाल भ्रमण जारी राख्न आह्वान गरेका थिए । उनले प्राकृतिक विपद्का कारण केही क्षेत्रमा जनजीवन प्रभावित भए पनि अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको भन्दै पर्यटक स्वागतका लागि नेपाल तयार रहेको बताएका छन् ।

मन्त्री पौडेलले रसुवाको भोटेकोशीदेखि धादिङको त्रिशूली दोभानसम्मको करिडोरका सीमित भूभागमा मात्रै बाढीको प्रत्यक्ष असर परेको बताएका छन् । बाँकी क्षेत्रमा पर्यटन गतिविधि सामान्य अवस्थामा रहेको उनको भनाइ छ । उनले नेपाल भ्रमणको योजना बनाएका पर्यटकलाई यात्रा रद्द नगर्न आग्रह गर्दै कठिन अवस्थामा नेपालको पर्यटन क्षेत्रलाई साथ दिन अपिल गरेका छन् । पर्यटकको आगमनले स्थानीय समुदाय, पर्यटन मजदुर, गाइड, पोर्टर, होटल व्यवसायी तथा पर्यटनमा निर्भर परिवारलाई प्रत्यक्ष सहयोग पुग्ने उनको भनाइ छ ।

‘नेपाल इज कलिङ’ अभियानमार्फत हिमाल, संस्कृति र नेपाली जनजीवन अनुभव गर्न विश्वभरका पर्यटकलाई निमन्त्रणा गरिएको छ । विपद्का कारण सिर्जित नकारात्मक धारणालाई सकारात्मक सूचनाले प्रतिस्थापन गर्ने अभियानको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

पर्यटक नआत्तिन पर्यटन बोर्डको आग्रह

नेपाल पर्यटन बोर्डले पनि देशको पर्यटन क्षेत्र सामान्य अवस्थामा रहेको भन्दै पूर्वनिर्धारित भ्रमण रद्द नगर्न विदेशी पर्यटकलाई आग्रह गरेको छ । बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले विपद् व्यवस्थापन तथा संकट सञ्चारका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेसनल र संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएन टुरिज्म) सँग समन्वय भइरहेको बताएका छन् ।

उनका अनुसार, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालको एउटा क्षेत्रमा भएको विपद्को समाचारलाई समग्र देशको अवस्थासँग जोडेर हेर्दा पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । त्यसैले पर्यटकले आफ्नो बुकिङ रद्द नगरी नेपाल आएर पर्यटन उद्योगलाई सहयोग गर्नुपर्ने बोर्डको आग्रह छ ।

‘विपद्को असर एउटा निश्चित करिडोरमा मात्र हो, देशका बाँकी पर्यटकीय स्थलहरू सुरक्षित छन्,’ ऐरले भनेका छन् । पर्यटन उद्योगसँग हजारौँ गाइड, पोर्टर तथा अन्य श्रमिकको रोजगारी जोडिएकाले पर्यटकको आगमन अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ छ ।

बोर्डले होटल संघ नेपाललगायत निजी क्षेत्रका संस्थासँग सहकार्य गरी बाढीबाट पर्यटन क्षेत्रमा परेको क्षतिको यकिन विवरण संकलन गरिरहेको छ । क्षतिको तथ्यांक संकलनसँगै अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवद्र्धनलाई पनि अघि बढाइएको छ ।

ऐरका अनुसार, बोर्डले यसअघि सुरु गरेको ‘नेपाल नाउ’ अभियानलाई पुनः सक्रिय बनाउँदै हालै सुरु गरिएको ‘नेपाल इज कलिङ’ अभियानलाई समेत प्राथमिकतामा राखेको छ । विमानस्थल, सेवा क्षेत्र तथा सम्बन्धित रेस्पोन्स टिम पर्यटकलाई सेवा दिन तयारी अवस्थामा रहेको बोर्डको दाबी छ ।

बोर्डको अनुसन्धान, योजना तथा प्रवद्र्धन विभागका निमित्त निर्देशक लक्ष्मण गौतमले भोटेकोशी बाढीबाट नेपालको कुल भूभागको ०.५ प्रतिशतभन्दा कम क्षेत्रमा मात्रै क्षति पुगेको बताएका छन् । उनका अनुसार, देशका प्रमुख पर्यटकीय क्षेत्रको अवस्था सामान्य रहेकाले विदेशी पर्यटकले पूर्वनिर्धारित योजनाअनुसार नै नेपाल भ्रमण गर्न सक्छन् ।

त्यसो त, भोटेकोशी बाढीपछि सीएनएन, बीबीसी, अलजजिरालगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले घटनास्थलबाट प्रत्यक्ष प्रसारण गरेका थिए । घटनाको गम्भीरता र क्षतिको दृश्य विश्वभर पुगे पनि त्यसले समग्र नेपाल नै बाढीग्रस्त र असुरक्षित रहेको जस्तो धारणा बन्ने जोखिम बढाएको पर्यटन बोर्डको बुझाइ छ ।

बोर्डका निमित्त निर्देशक गौतमले यही कारण ‘प्रति–प्रवद्र्धन’ रणनीति अघि बढाइएको बताएका छन् । उनका अनुसार, ‘नेपाल इज कलिङ’ र ‘नेपाल नाउ’ मार्फत नेपालको वास्तविक र ताजा अवस्था अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने काम भइरहेको छ ।

सन् २०१५ को भूकम्पपछि नेपालको पर्यटन पुनरुत्थानमा उपयोगी भएको ‘नेपाल नाउ’ डिजिटल पोर्टललाई पुनः सक्रिय बनाएर विभिन्न पर्यटकीय गन्तव्यको सुरक्षित अवस्थाबारे नियमित जानकारी सार्वजनिक गर्न थालिएको छ ।

गौतमका अनुसार, विपद्को संवेदनशीलता र पर्यटन व्यवसायको आवश्यकतालाई सन्तुलनमा राख्दै राज्यस्तरबाट थप आक्रामक अन्तर्राष्ट्रिय प्रवद्र्धन अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।

९५ प्रतिशत पर्यटकीय क्षेत्र सुरक्षित रहेको दाबी

प्रतिनिधिसभा सदस्य तथा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको समाचारका कारण नेपाल असुरक्षित रहेको गलत छाप परेको भन्दै तत्काल रणनीतिक कदम चाल्नुपर्ने बताएका छन् ।

उनका अनुसार, सगरमाथा, अन्नपूर्ण, पोखरा, लुम्बिनीलगायत प्रमुख पर्यटकीय क्षेत्र सुरक्षित छन् । रसुवाको बाढीले निकै सीमित क्षेत्रमा मात्रै प्रभाव पारेकाले नेपालका करिब ९५ प्रतिशत पर्यटकीय क्षेत्र सुरक्षित रहेको सन्देश विश्वभर पुर्‍याउनुपर्ने उनले बताएका छन् ।

रेग्मीले भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई व्यक्तिगत रूपमा पत्राचार गरी घटनाको वास्तविक अवस्थाबारे ध्यानाकर्षण गराएको बताएका छन् । पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूलाई समेत नेपालको अवस्थाबारे आधिकारिक सूचना प्रवाह गर्न सक्रिय बनाउनुपर्ने उनको सुझाव छ ।

उनले नेपालले यूएन टुरिज्म र पाटा इन्टरनेसनललाई वार्षिक रूपमा सदस्यता शुल्क तिर्दै आएको उल्लेख गर्दै अहिलेको संकटमा ती संस्थामार्फत आधिकारिक सकारात्मक सन्देश प्रवाह गराउनुपर्ने बताएका छन् ।

त्यसैगरी, विगतमा नेपाल भ्रमण गरिसकेका करिब ५०० देखि १ हजार अन्तर्राष्ट्रिय प्रभावशाली व्यक्तित्व तथा इन्फ्लुएन्सरसँग सम्पर्क गरी सामाजिक सञ्जालमार्फत नेपाल भ्रमण रद्द नगर्न आग्रह गर्ने अभियान चलाउनुपर्ने उनको सुझाव छ । पर्यटकका लागि हवाई सेवा सहज र सुरक्षित रहेको विषयमा पनि स्पष्ट सूचना दिनुपर्ने उनले बताएका छन् ।

अन्य गन्तव्यमा पर्यटन गतिविधि सामान्य

वायुसेवा सञ्चालक संघ नेपालका प्रथम उपाध्यक्ष निमानुरु शेर्पाले पनि भोटेकोशी बाढीको प्रभाव सीमित क्षेत्रमा रहेकाले अन्य पर्यटकीय गन्तव्यमा भ्रमण, पदयात्रा तथा पर्वतारोहणका गतिविधिमा समस्या नरहेको बताएका छन् ।

उनका अनुसार, रसुवागढी, तिमुरे, बेत्रावती, त्रिशूलीलगायत प्रभावित क्षेत्रबाहेक देशका अन्य भागमा पर्यटन गतिविधि सामान्य रूपमा सञ्चालन भइरहेका छन् । अहिले नेपाल आइसकेका तथा भ्रमणको बुकिङ गरिसकेका पर्यटकलाई सुरक्षित महसुस गराउनु मुख्य चुनौती भएको उनले बताए । पर्यटकको आवागमन, सेवा र व्यवस्थापनलाई सहज बनाउन निजी क्षेत्र तयार रहेको भन्दै सरकारले आवश्यक प्रशासनिक सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पनि बाढी र इन्धन आपूर्तिमा देखिएको असहजताका बाबजुद होटल व्यवसायीहरूले पर्यटकलाई सेवा सुविधामा कमी हुन नदिएको बताएका छन् । सामान्य होटलदेखि पाँचतारे डिलक्स होटलसम्म पर्यटक सेवाका लागि तयारी अवस्थामा रहेको उनले बताए ।

शाहका अनुसार, नेपालको होटल क्षेत्रसँग वार्षिक करिब ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता छ । त्यसैले विपद्का कारण सिर्जित भ्रमका आधारमा पर्यटकले नेपाल भ्रमण स्थगित वा रद्द गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

पर्यटन व्यवसायीहरूले आगामी मुख्य सिजनलाई लक्षित गर्दै नेपाल सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देशलाई विश्व बजारमा व्यापक बनाउने तयारी गरिरहेका छन् । सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट अन्तर्राष्ट्रिय पर्यटकमा परेको अन्योल हटाउँदै बुकिङ र आगमनलाई निरन्तरता दिने प्रयास भइरहेको छ । पर्यटनमा निर्भर लाखौँ नेपालीको रोजगारी र आयसँग समेत पर्यटक आगमन जोडिएकाले विपद्पछिको अवस्थामा पर्यटनलाई चलायमान राख्न यस्तो प्रवद्र्धन अभियानलाई महत्वपूर्ण मानिएको छ ।

1

Scroll to Top