Banijya News

जीवन बीमा कम्पनीले एक महिनामै उठाए साढे २६ अर्ब बीमाशुल्क

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमै जीवन बीमा कम्पनीहरूले २६ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले साउनमा विभिन्न प्रकारका बीमालेख बिक्री तथा नवीकरणमार्फत कुल २६ अर्ब ६२ करोड २० लाख २९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा सबैभन्दा ठूलो रहेको छ । साउनमा सावधिक जीवन बीमाबाट मात्रै १३ अर्ब १९ करोड ३४ लाख १४ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यो कुल बीमाशुल्कको करिब ४९.५६ प्रतिशत हो ।

त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट ४ अर्ब ८४ करोड ४९ लाख ६१ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ । रूपान्तरित सावधिक जीवन बीमाबाट २ अर्ब ७९ करोड ४८ लाख ३५ हजार रुपैयाँ तथा बालबच्चासम्बन्धी सावधिक जीवन बीमाबाट ३ अर्ब ५५ करोड ६ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट २९ करोड ४९ लाख ६९ हजार रुपैयाँ, आजीवन जीवन बीमाबाट १ अर्ब ५२ करोड ३० लाख ९७ हजार रुपैयाँ र एकल बीमाशुल्क जीवन बीमाबाट ७१ करोड ५२ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

म्यादी जीवन बीमाबाट १२ करोड ४० लाख ४२ हजार रुपैयाँ, लघु जीवन बीमाबाट २५ करोड ३४ लाख २५ हजार रुपैयाँ र अन्य जीवन बीमाबाट ३२ करोड ३३ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

प्रदेशगत रूपमा हेर्दा साउनमा बागमती प्रदेश जीवन बीमा व्यवसायमा सबैभन्दा अगाडि रहेको छ । बागमतीबाट मात्रै १३ अर्ब ११ करोड ३७ लाख ३ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशबाट ३ अर्ब ६४ करोड २० लाख ५ हजार, कोशी प्रदेशबाट ३ अर्ब ८ करोड ३७ लाख २ हजार, गण्डकी प्रदेशबाट २ अर्ब ५३ करोड ८१ लाख ३१ हजार र मधेश प्रदेशबाट २ अर्ब १२ करोड ३२ लाख ८९ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

सुदूरपश्चिम प्रदेशबाट १ अर्ब ३७ करोड ५८ लाख ३९ हजार तथा कर्णाली प्रदेशबाट ७४ करोड ५३ लाख ५९ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

1

Scroll to Top