विपद्को परिस्थितिको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यासमा तोकिएको भन्दा बढी मूल्य लिएर बिक्री गर्ने व्यवसायीमाथि कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ ।
महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको अनुचित लाभ उठाएर उपभोक्तामाथि अतिरिक्त आर्थिक भार पार्ने जोकोहीलाई कारबाही गर्न आग्रह गरेको हो । लामो समयदेखि मुलुकमा एलपी ग्यासको आपूर्ति सहज हुन नसकिरहेका बेला भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले समस्या थप गम्भीर बनाएको महासंघले जनाएको छ ।
बाढीका कारण कृष्णभिरको सडक कटान भई राजधानीसँग जोडिने प्रमुख राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकाको ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्ति प्रणाली प्रभावित भएको महासंघको भनाइ छ । यसले बजारमा ग्यासको अभाव र वितरणमा थप चुनौती सिर्जना गरेको जनाइएको छ ।
महासंघले यस्तो कठिन अवस्थामा आम उपभोक्तालाई ग्यास तथा अन्य उपभोग्य वस्तु अनुचित मूल्यमा बिक्री गर्नु दण्डनीय कार्य भएको स्मरण गराएको छ । बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने वा विपद्को अवस्थालाई व्यापारिक फाइदाका रूपमा प्रयोग गर्ने गतिविधिमाथि सरकारले निगरानी बढाउनुपर्ने महासंघको माग छ ।
महासंघका कार्यवाहक अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशभरिका ग्यास विक्रेतालाई पनि विशेष अपिल गरिएको छ । प्राप्त हुने ग्यास वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकताका आधारमा बिक्री तथा वितरण गर्न महासंघले आग्रह गरेको छ ।
महासंघले विषम परिस्थितिमा आम उपभोक्तालाई अत्यावश्यक वस्तु सहज रूपमा उपलब्ध गराउनु सरकार, ग्यास उद्योगी र विक्रेताको साझा दायित्व भएको जनाएको छ । साथै, अवरुद्ध आपूर्ति प्रणालीलाई यथाशीघ्र नियमित बनाउन सम्बन्धित सबै पक्षले हरसम्भव प्रयास गर्नुपर्नेमा जोड दिएको छ ।

