सेयर बिक्री गरेपछि लगानीकर्ताले आफैं ‘मेरो सेयर’मार्फत ईडीआईएस गर्नुपर्ने बाध्यता हटाउने तयारी अघि बढेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सेयर कारोबारमा स्वचालित ईडीआईएस प्रणाली लागू गर्ने विषयमा अध्ययन सुरु गरेको हो ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्देशनअनुसार सीडीएससीले अटो ईडीआईएस सञ्चालनका लागि आवश्यक कानुनी, प्राविधिक तथा संरचनागत व्यवस्थाबारे अध्ययन गरिरहेको छ । हालको प्रणालीमा आवश्यक सुधार पहिचान गरी सम्बन्धित निकाय तथा सरोकारवालासँग छलफल गरेर अध्ययन प्रतिवेदन तयार गर्ने तयारी सीडीएससीको छ ।
हाल लगानीकर्ताले सेयर बिक्री गरेपछि ‘मेरो सेयर’मा लगइन गरेर सम्बन्धित सेयरको ईडीआईएस आफैं गर्नुपर्ने व्यवस्था छ । सेयर खरिद–बिक्रीको आदेश भने नेप्से वा सम्बन्धित ब्रोकरको कारोबार प्रणालीमार्फत दिइन्छ । कारोबारपछि पुनः ‘मेरो सेयर’मा प्रवेश गरी ईडीआईएस गर्नुपर्ने भएकाले लगानीकर्ताले थप प्रक्रिया पूरा गर्नुपर्छ ।
सेबोनले भदौ दोस्रो साता सीडीएससीलाई कारोबार व्यवस्थापन प्रणाली र ‘मेरो सेयर’बीच एपीआई इन्टिग्रेसनमार्फत अटो ईडीआईएस सञ्चालन गर्न आवश्यक कानुनी तथा संरचनागत सुधारबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो ।
कारोबार व्यवस्थापन प्रणाली र ‘मेरो सेयर’बीच अन्तरआबद्धता भए पनि ईडीआईएसलाई पूर्ण रूपमा स्वचालित बनाउन विद्यमान व्यवस्थामा केही परिवर्तन आवश्यक पर्ने देखिएको छ । विशेषगरी राफसाफ, कारोबार व्यवस्थापन तथा पुँजीगत लाभकरसँग सम्बन्धित कानुनी प्रावधानका कारण अटो ईडीआईएस कार्यान्वयनमा चुनौती रहेको सीडीएससीले जनाएको छ ।
अध्ययनपछि आवश्यक कानुनी र प्राविधिक सुधार पहिचान गरी प्रणाली कार्यान्वयनको बाटो तय गरिनेछ । अटो ईडीआईएस लागू भएमा सेयर बिक्रीपछि लगानीकर्ताले छुट्टै ‘मेरो सेयर’मा प्रवेश गरेर ईडीआईएस गर्नुपर्ने प्रक्रिया हट्नेछ । यसले सेयर कारोबार तथा राफसाफ प्रक्रियालाई थप सहज, छिटो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।


