Banijya News

रसुवा बाढीको असर : जलविद्युत् र बीमा कम्पनीको रेटिङमा बढ्यो दबाब

1
1.1K Shares

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जलविद्युत्, बीमा तथा वित्तीय क्षेत्रमा जोखिम बढेको छ । बाढीबाट जलविद्युत् आयोजनाका संरचना, प्रसारण पूर्वाधार, सडक तथा पुलमा ठूलो क्षति पुगेपछि क्रेडिट रेटिङ एजेन्सीहरूले प्रभावित कम्पनीहरूको वित्तीय अवस्था र सम्भावित नोक्सानीको पुनरावलोकन थालेका छन् । इक्रा नेपाल र केयर रेटिङस नेपालले केही कम्पनीको रेटिङ घटाएका छन् भने केहीलाई नकारात्मक वा विकासोन्मुख निगरानीमा राखेका छन् ।

भदौ १० गते बिहान चीन–नेपाल सीमा नजिकैको रसुवागढी क्षेत्रमा आएको विनाशकारी हिम–चट्टान पहिरोपछि बनेको लेदो बाढीले रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । लाङटाङ क्षेत्रमा गएको हिम–चट्टान पहिरोका कारण नदी थुनिएर बनेको प्राकृतिक बाँध अचानक फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ ।

बाढीले करिब २० वटा पक्की पुल तथा ७० देखि ८० किलोमिटर सडक बगाएको छ । पृथ्वी राजमार्गको महत्वपूर्ण खण्डमा समेत क्षति पुगेको छ । चीनसँगको मुख्य व्यापारिक नाका केरुङतर्फको आवागमन ठप्प हुँदा व्यापार तथा आपूर्ति प्रणालीमा समेत असर परेको छ ।बाढीबाट करिब ७०० मेगावाट क्षमताका १४ वटा जलविद्युत् तथा सोलार आयोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष क्षति पुगेको अनुमान छ । त्यसमध्ये करिब ३०० मेगावाट क्षमताका आयोजना सञ्चालनमा थिए। काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको त्रिशूली–३बी हब सबस्टेशन तथा प्रसारण लाइनमा क्षति पुगेपछि आगामी सुक्खा याममा विद्युत् आपूर्तिमा समेत जोखिम बढेको छ ।

पुनर्बिमा कम्पनीको रेटिङ घट्यो

बाढीको असरलाई ध्यानमा राख्दै इक्रा नेपालले नेपाल पुनर्बिमा कम्पनीको ‘ए’ रेटिङ घटाएर ‘ए माइनस’ कायम गरेको छ । कम्पनीलाई ‘नकारात्मक असरसहितको निगरानी’ अर्थात् नेगेटिभ वाचमा समेत राखिएको छ ।

इक्राका अनुसार, सन् २०२५ को सेप्टेम्बरमा भएको अशान्ति तथा दङ्गासँग सम्बन्धित दाबीका कारण कम्पनीको पुँजीगत आधार यसअघि नै केही कमजोर बनेको थियो । त्यसैमा पछिल्लो विपद्बाट थप दाबी आउन सक्ने र विद्यमान क्याटास्ट्रोफिक कभर पर्याप्त नहुन सक्ने जोखिम देखिएको छ । यसले कम्पनीको पुँजीमा थप दबाब पर्न सक्ने भएकाले रेटिङ घटाइएको हो ।

शिखर इन्स्योरेन्सको ‘डबल ए माइनस’ रेटिङ भने ‘डेभलपिङ वाच’ मा राखिएको छ । समकक्षी कम्पनीको तुलनामा विपद्जन्य घटनामा कम्पनीको आफ्नै जोखिम बहन क्षमता अर्थात् रिटेन्सन कम भए पनि सबै प्रकारका जोखिम समेट्ने विस्तृत विपद् बीमा सुरक्षण रहेकाले तत्काल रेटिङ घटाइएको छैन ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ‘ए’, एनएलजी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ‘ए माइनस’ तथा युनाइटेड अजोड इन्स्योरेन्सको ‘बीबीबी प्लस’ रेटिङलाई पनि नकारात्मक असरसहितको निगरानीमा राखिएको छ ।

विशेषगरी, मोटर र मरिन क्षेत्रका धेरै साना दाबीहरू विपद् बीमा सुरक्षणबाट पूर्ण रूपमा नसमेटिन सक्ने भएकाले कुल दाबी रकम ठूलो बन्न सक्ने इक्राको निष्कर्ष छ । यसले निर्जीवन बीमा कम्पनीहरूको वित्तीय अवस्था र पुँजीगत आधारमा दबाब सिर्जना गर्न सक्छ ।

तर प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको ‘बीबी’ र स्टार माइक्रो इन्स्योरेन्सको ‘बीबी माइनस’ रेटिङमा तत्काल कुनै परिवर्तन गरिएको छैन । प्रारम्भिक सञ्चालन चरणमा रहेका यी कम्पनीको व्यवसायको तुलनामा पुँजीगत आधार बलियो हुनु र प्रभावित जिल्लामा प्रत्यक्ष जोखिम न्यून हुनु यसको मुख्य कारण हो ।

जलविद्युत् कम्पनीको रेटिङ पुनरावलोकन

इक्रा नेपालले जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनीहरूको रेटिङ पनि पुनरावलोकन गरेको छ । नेपाल विद्युत् प्राधिकरणको ‘डबल ए प्लस’ रेटिङ भने यथावत् राखिएको छ । प्राधिकरणका केही संरचनामा क्षति पुगे पनि ठूलो खुद सम्पत्ति र अधिकांश संरचनाको बीमा सुरक्षण रहेकाले समग्र वित्तीय जोखिम नियन्त्रणमै रहने इक्राको आकलन छ ।

तर, ३७ मेगावाट क्षमताको निर्माणाधीन माथिल्लो त्रिशूली–३बी आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत्‌् कम्पनीलाई भने नकारात्मक वाचमा राखिएको छ । कम्पनीको दीर्घकालीन कर्जाको ‘डबल बी’ र अल्पकालीन कर्जाको ‘ए फोर’ रेटिङ यसअघि थियो ।

रसुवाको बाढीबाट आयोजनाका संरचनामा ठूलो क्षति पुगेपछि कम्पनीको पुनर्निर्माण लागत, आयोजना पुनः सञ्चालनमा आउने समय तथा बीमाबाट प्राप्त हुने क्षतिपूर्तिको वास्तविक रकमबारे अनिश्चितता बढेको छ ।

त्यस्तै, इनर्जी डेभलपमेन्टका संरचनामा पनि व्यापक क्षति पुगेकाले कम्पनीलाई नकारात्मक वाचमा राखिएको छ । यसअघि कम्पनीको दीर्घकालीन कर्जाको ‘डबल बी’ र अल्पकालीन कर्जाको ‘ए फोर प्लस’ रेटिङ थियो ।

बैंकमा तत्काल ठूलो असर नपर्ने आकलन

जलविद्युत् आयोजनाको भौतिक तथा आम्दानी नोक्सानीको ठूलो हिस्सा बीमा कम्पनीमार्फत व्यवस्थापन हुने र नेपाल राष्ट्र बैंकबाट कर्जा पुनर्संरचनालगायतका सुविधा आउन सक्ने भएकाले वाणिज्य बैंकको सम्पत्ति गुणस्तरमा तत्काल गम्भीर असर नपर्ने इक्राको निष्कर्ष छ ।

स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबीआई, नबिल, नेपाल बैंक, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, सानिमा, माछापुच्छ्रे, सिद्धार्थ, सिटिजन्स र कुमारी बैंकलगायतका वाणिज्य बैंकको रेटिङमा तत्काल कुनै परिवर्तन गरिएको छैन ।

त्यस्तै, गरिमा, साइन रेसुङ्गा, महालक्ष्मी, लुम्बिनी र सांग्रिला विकास बैंकको रेटिङ पनि यथावत् राखिएको छ । प्रभावित आयोजना तथा ऋणीमा बैंकहरूको कर्जा रहे पनि राष्ट्र बैंकबाट सम्भावित नियामकीय राहतलाई समेत ध्यानमा राखेर आगामी दिनमा जोखिमको मूल्यांकन गरिने इक्राले जनाएको छ ।

यद्यपि, प्रभावित क्षेत्रका पर्यटकीय संरचना, साना तथा मझौला व्यवसाय र लघुवित्तका स्थानीय ऋणीको जीविकोपार्जनमा परेको असरका कारण निष्क्रिय कर्जा बढ्न सक्ने जोखिम भने रहेको छ । विशेषगरी प्रभावित क्षेत्रमा लघुवित्त संस्थाहरूको कर्जा लगानी उल्लेख्य भएमा वित्तीय असर बढी पर्न सक्ने इक्राले जनाएको छ ।

जीवन बीमामा तत्काल जोखिम सीमित

जीवन बीमा कम्पनीहरूको रेटिङमा भने तत्काल कुनै परिवर्तन गरिएको छैन । नेपाल लाइफ, एलआइसी नेपाल, सिटिजन लाइफ, प्रभु महालक्ष्मी लाइफ तथा क्रेस्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफको रेटिङ यथावत् राखिएको छ ।

जीवन बीमा कम्पनीहरूले सामान्यतया सीमित संख्यामा मृत्यु दाबीको जोखिम आफैं बहन गर्ने र त्यसपछि क्याटास्ट्रोफिक कभर सक्रिय हुने भएकाले बाढीबाट पर्ने प्रत्यक्ष वित्तीय असर सीमित रहने अनुमान गरिएको छ । नेपालमा जीवन बीमाको पहुँच तथा औसत बीमाङ्क मध्यम स्तरमा रहेकाले पनि कम्पनीमाथिको सम्भावित भार नियन्त्रणमा रहने इक्राको आकलन छ । पुराना कम्पनीसँग रहेको ठूलो विपद् कोषले पनि थप सुरक्षा प्रदान गर्नेछ ।

केयर रेटिङ्सको पनि निगरानी

केयर रेटिङस नेपालले पनि बाढीपछि रसुवाका जलविद्युत् आयोजनाको क्रेडिट जोखिम पुनरावलोकन गरेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको ‘बी प्लस’ इस्युअर रेटिङलाई नकारात्मक असरसहितको क्रेडिट वाचमा राखिएको छ ।

५ मेगावाट क्षमताको मैलुङ खोला आयोजनाको विद्युत् गृह र पेनस्टक पाइपमा बाढीले क्षति पुर्‍याएपछि विद्युत् उत्पादन पूर्ण रूपमा रोकिएको छ । कम्पनीले बीमा दाबीको प्रक्रिया अघि बढाए पनि आयोजना पुनः सञ्चालनमा आउन लाग्ने समय र त्यसले वित्तीय अवस्थामा पार्ने असर अझै स्पष्ट भएको छैन ।

त्यस्तै, १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत्‌को ‘डबल बी प्लस’ इस्युअर रेटिङ, २ अर्ब ३० करोड २५ लाख रुपैयाँको दीर्घकालीन बैंकिङ सुविधा रेटिङ ‘बीबी प्लस’ तथा ९ करोड रुपैयाँको अल्पकालीन सुविधा रेटिङ ‘ए फोर प्लस’ लाई पनि नकारात्मक असरसहितको क्रेडिट वाचमा राखिएको छ ।

यस आयोजनाको आफ्नै भौतिक संरचनामा ठूलो क्षति नपुगे पनि त्रिशूली–३बी हब सबस्टेशन र प्रसारण लाइन ध्वस्त हुँदा विद्युत् निकासी बन्द भएको छ । त्यसैले प्रसारण पूर्वाधार कहिले पुनः सञ्चालनमा आउँछ भन्ने विषय आयोजनाको आम्दानी र ऋण तिर्ने क्षमताका लागि महत्वपूर्ण बनेको छ ।

इक्रा र केयर रेटिङ्स दुवैले आगामी दिनमा बीमा दाबीको वास्तविक भुक्तानी, पुनर्निर्माण लागत, आयोजना पुनः सञ्चालनको समय, बीमाले नसमेट्ने नोक्सानीको वित्तीय व्यवस्थापन तथा कर्जा पुनर्संरचनाको अवस्थालाई मुख्य आधार बनाएर कम्पनीहरूको क्रेडिट प्रोफाइल पुनर्मूल्यांकन गर्ने बताएका छन् ।

सरकारले पुनर्निर्माणका लागि कर्जा पुनर्तालिकीकरण, पीपीएको अवधि थप तथा नियामकीय लचकता दिएमा प्रभावित जलविद्युत् तथा वित्तीय संस्थामाथिको दबाब केही कम हुने अपेक्षा गरिएको छ ।

1

Scroll to Top