हाल एटीएमबाट १ हजार र ५०० रुपैयाँ दरका नोट मात्रै वितरण भइरहेकोमा अब १०० रुपैयाँ दरका नोटसमेत निकाल्न पाइने भएको छ । बैंक तथा वित्तीय संस्थाका एटीएमबाट सय रुपैयाँ दरका नोटसमेत निकाल्न पाइने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार, ग्राहकबाट एटीएममार्फत १०० रुपैयाँ दरका नोट पनि वितरण गर्नुपर्ने माग बेला–बेलामा आउने गरेको छ । नजिकिँदै गरेको महान चाडबाडका अवसरमा बैंक तथा वित्तीय संस्थामा साना दरका नोट साट्ने ग्राहकको भीड उल्लेख्य रूपमा बढ्न सक्ने आकलनसमेत केन्द्रीय बैंकले गरेको छ ।
यसलाई ध्यानमा राख्दै सर्वसाधारणको सुविधा तथा चाडपर्वका समयमा बैंकमा हुने भीड व्यवस्थापनका लागि एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिइएको हो ।
राष्ट्र बैंकले केही बैंकसँग मौखिक जानकारी लिँदा प्राविधिक रूपमा एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्ने व्यवस्था गर्न सकिने जानकारी प्राप्त भएकोसमेत पत्रमा उल्लेख गरेको छ ।
मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालले हस्ताक्षर गरेको पत्रको बोधार्थ डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत दिइएको छ ।


