एनआइसी एसिया बैंकले दुईवटा विद्यालयलाई आवश्यक सहयोग प्रदान गरेको छ । बैंकले बारबर्दिया नगरपालिका–६, बर्दियास्थित अंशुवर्मा माध्यमिक विद्यालय र चन्दननाथ नगरपालिका– १, जुम्लास्थित मालिका आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको हो । त्यस्तै, बैंकले फलेवास नगरपालिका– ४, पर्वतस्थित मुडिकुवा स्वास्थ्यचौकीलाई पनि आवश्यक सहयोग प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यी तीन संस्थालाई सहयोग गरेको हो । बैंकले मुडिकुवा स्वास्थ्य चौकीलाई बिरामी उपचारमा आवश्यक पर्ने निडल कटर, निडल बर्नर, ह्विल चियर, ओपिडी बेड, बिपी सेट, स्टेडिओमिटर, स्क्रिन फुट स्टेप्स, पेरी लाइट, फेटल डोपलर, वेटिङ चियर र वाटर डिस्पेन्सरलगायत स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराएको छ । बैंकका पोखरा सर्कल हेड श्वेता शेरचन तुलाचन र न्युरोड पोखरा शाखा प्रमुख विजय चापागाईंले स्वास्थ्य चौकी इन्चार्ज दुर्गाबहादुर थापा र वडाध्यक्ष अच्युत तिवारीलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
त्यसैगरी, बैंकले अशुंवर्मा माविमा युभी वाटर फिल्टर र वाटर कुलर जडान गरेको छ । बैंकका नेपालगन्ज सर्कल हेड अशोककुमार तिमिल्सेना र मगरागढी शाखा प्रमुख महेन्द्रबहादुर शाहीले संयुक्त रूपमा उक्त विद्यालयका प्रधानाध्यापक पुमराज शर्मालाई उक्त सेवा जडान गरेर हस्तान्तरण गरेका हुन् ।
साथै, बैंकले मालिका आधारभूत विद्यालयका विद्यार्थीलाई डिजिटल प्रविधिमा आधारित आधुनिक शिक्षा प्राप्त गर्न सहयोग होस् भन्ने उद्देश्यसहित स्मार्ट बोर्ड प्रदान गरेको छ । बैंकका जुम्ला शाखा प्रमुख कालीबहादुर रोकायले विद्यालयका प्रधानाध्यापक हेमन्तबहादुर महतलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

