Banijya News

घरजग्गामा बढ्यो चहलपहल, कारोबारसँगै राजस्व र कर्जा पनि उकालो

1
1.0K Shares

नेपालको घरजग्गा कारोबारमा सुधार देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘घरजग्गा कारोबार प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनले पछिल्लो समय घरजग्गा बजारमा कारोबारको संख्या, कारोबार भएको क्षेत्रफल, सरकारी राजस्व तथा बैंक कर्जालगायतका सूचकमा सुधार आएको देखाएको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा भने यस्तो कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो। यसले पछिल्लो आर्थिक वर्षमा घरजग्गा बजारमा कारोबारको गतिविधि पुनः बढ्न थालेको संकेत गरेको छ ।

कारोबारको मूल्यका आधारमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०८२/८३ मा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँबराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँबराबर थियो ।

विशेषगरी आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा घरजग्गा बजार थप सक्रिय देखिएको छ । उक्त अवधिमा कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कारोबार संख्या १४.६५ प्रतिशतले बढेको थियो ।

चौथो त्रैमासमा मात्रै २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँबराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ थियो ।

लिखत पारितअन्तर्गतको कारोबार संख्या पनि १२.२८ प्रतिशतले बढेको छ । यसअन्तर्गत राजीनामा कारोबारको संख्या भने २२.८८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा राजीनामा कारोबार ८.१५ प्रतिशतले मात्र बढेको थियो ।

घरजग्गा कारोबारमा भएको विस्तारसँगै कारोबार भएको कुल क्षेत्रफल पनि बढेको छ । समीक्षा अवधिमा यस्तो क्षेत्रफल १५.४१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल कारोबार क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो ।

घरजग्गा कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ । चौथो त्रैमासमा यस्तो राजस्व ४८.२६ प्रतिशतले बढेको छ । त्यस्तै, पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पनि सुधार देखिएको छ । आवासीय घरजग्गा कर्जासहित चौथो त्रैमासमा यस क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ६.९३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो । यी सूचकहरूले घरजग्गा बजारमा कारोबार र वित्तीय गतिविधि क्रमशः चलायमान बन्दै गएको संकेत गरेका छन् ।

1

Scroll to Top