काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने तयारीसँगै भक्तपुरका स्थानीय तहलाई पनि साझेदारीमा ल्याउने पहल अघि बढेको छ । काठमाडौं महानगरपालिकाले भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई रात्रिकालीन यातायात सञ्जालमा जोडिन प्रस्ताव गरेको हो ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुरका दुवै स्थानीय तहका प्रतिनिधिसँगको छलफलमा रात्रिकालीन सार्वजनिक यातायातलाई अन्तरपालिका सहकार्यमा सञ्चालन गर्नुपर्ने बताएकी छन् । काठमाडौं र ललितपुरका स्थानीय तहको सहकार्यमा सञ्चालन भइरहेको सेवा भक्तपुरसम्म विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।
हाल काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा साझा यातायातले रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएको छ । गत वैशाख १ गतेदेखि सुरु भएको उक्त सेवाको प्रभावकारिता बढाउन थप रुट र स्थानीय तह समेट्ने तयारी गरिएको हो ।
कार्यवाहक प्रमुख डंगोलका अनुसार साँझ ६–७ बजेपछि सार्वजनिक सवारीसाधनको संख्या घट्दा उपत्यकामा काम गर्ने श्रमिक, विद्यार्थी तथा मध्यम वर्गीय नागरिक बढी प्रभावित हुने गरेका छन् । सार्वजनिक यातायातको विकल्पका रूपमा राइड सेयरिङ प्रयोग गर्दा खर्च महँगो पर्ने भएकाले सबै वर्गका नागरिकलाई सहज र सुरक्षित यातायात उपलब्ध गराउन स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उनले बताइन् ।
उनले रात्रिकालीन बस सेवा सञ्चालनको प्रारम्भिक चरणमा केही आर्थिक घाटा भए पनि त्यसको भार एउटै पालिकाले मात्र व्यहोर्न नहुने बताइन् । सेवा सञ्चालन हुने रुटसँग प्रत्यक्ष जोडिएका सबै स्थानीय तहले लागत साझेदारी गरेमा सेवा दीर्घकालीन र प्रभावकारी बन्ने उनको भनाइ छ ।
महानगरपालिकाले आगामी असोज ३ गतेदेखि २८ वटा बसमार्फत उपत्यकामा ६ वटा नयाँ रुटमा रात्रिकालीन सेवा विस्तार गर्ने तयारी गरेको छ । योजनाअनुसार गोदावरी–बुढानीलकण्ठ रुटमा ६, जगाती–रत्नपार्क–ठमेल रुटमा ६, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–नागढुंगा रुटमा ४, कीर्तिपुर–नयाँ सडक रुटमा ४ तथा चक्रपथमा दुवैतर्फ गरी ८ वटा बस सञ्चालन गरिनेछन् ।
चक्रपथमा निरन्तर दुईतर्फी सेवा सञ्चालन भएपछि यात्रुले एक स्थानमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सक्नेछन् । यसका लागि अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने व्यवस्था मिलाउने तयारी छ ।
काठमाडौं महानगरको प्रस्तावप्रति भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिका सकारात्मक देखिएका छन् । दुवै स्थानीय तहले सार्वजनिक यातायातको आवश्यकता स्वीकार गर्दै वित्तीय तथा व्यवस्थापकीय साझेदारीमा सहभागी हुन इच्छुक रहेको जनाएका छन् ।
स्थानीय तहबीचको सहकार्यमा रात्रिकालीन यातायात नियमित र व्यवस्थित बनेमा यात्रुको पहुँच बढ्नुका साथै उपत्यकाको रात्रीकालीन जनजीवन, रोजगारी र आर्थिक गतिविधि थप सुरक्षित तथा चलायमान हुने अपेक्षा गरिएको छ ।

