सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने तयारी अघि बढाएको छ । प्राधिकरणको पुनर्संरचनाका लागि आवश्यक विधेयक तयारीको अन्तिम चरणमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले बताएका छन् ।
मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले प्राधिकरण विभाजनसम्बन्धी विधेयक तयार भइसकेको जानकारी दिएका हुन् ।
उनका अनुसार, हालको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई भागमा विभाजन गरी एउटा निकायलाई नियामक र अर्कोलाई हवाई सेवा प्रदायकका रूपमा विकास गर्ने प्रस्ताव गरिएको छ । यससम्बन्धी विधेयक तयार गरी कानुनी रायका लागि समेत पठाइसकिएको उनले बताए ।
प्रस्तावित संरचनाअनुसार नियामक निकायका रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवा प्रदायकका रूपमा हवाई सेवा प्राधिकरण रहनेछन् । हाल एउटै संस्थाले नियमन र सेवा प्रवाह दुवै भूमिका निर्वाह गर्दै आएकामा त्यसलाई अलग गर्ने सरकारको तयारी हो ।
समितिमा छलफल भइरहेको आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकका क्रममा उठेका धेरैजसो सैद्धान्तिक विषय नयाँ संरचनाअन्तर्गत बन्ने हवाई सेवा प्राधिकरणसँग समेत सम्बन्धित हुने मन्त्री पौडेलले स्पष्ट पारे ।
उनले सबै विषयलाई एउटै कानुन वा एउटै निकायमा समेट्न आवश्यक नरहेको धारणा राखे। आन्तरिक वायुसेवा प्रदायकहरूले हाल गर्दै आएका तथा कतिपय अवस्थामा स्वतःस्फूर्त रूपमा भइरहेका गतिविधिलाई व्यवस्थित र नियमन गर्न आवश्यक कानुनी आधार तयार गर्न वर्तमान विधेयक ल्याइएको उनको भनाइ छ ।
मन्त्री पौडेलले आन्तरिक वायुसेवा प्रदायकका गतिविधिलाई स्पष्ट कानुनी दायरामा ल्याउनु आवश्यक रहेको बताए। उनका अनुसार हवाई सेवा क्षेत्रको गतिविधि बढ्दै जाँदा त्यसलाई व्यवस्थित बनाउन जिम्मेवारी र अधिकार स्पष्ट हुने कानुनी संरचना आवश्यक छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रूपमा अलग गर्ने विषय लामो समयदेखि बहसमा रहँदै आएको छ । हवाई सुरक्षाको नियमन तथा विमानस्थल र हवाई सेवा सञ्चालनको जिम्मेवारी एउटै संस्थामा रहँदा स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै प्राधिकरण विभाजनको विषय उठ्दै आएको हो ।
सरकारले प्रस्तावित नयाँ संरचनामार्फत नियमन र सेवा प्रवाहको भूमिकालाई अलग गरी हवाई क्षेत्रको व्यवस्थापन तथा नियमनलाई थप व्यवस्थित गर्ने लक्ष्य राखेको छ ।
मंगलबारको समितिको बैठकमा सांसदहरूले आन्तरिक हवाई सेवासँग सम्बन्धित विभिन्न विषयमा प्रश्न तथा सुझाव राखेका थिए । त्यसपछि मन्त्री पौडेलले विधेयकको आवश्यकता, यसको उद्देश्य र प्राधिकरण पुनर्संरचनाका लागि भइरहेको सरकारी तयारीबारे समितिलाई जानकारी गराएका हुन् ।

