भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई राहत दिने गरी चिनी प्रतिकिलो ११० रुपैयाँमा बिक्री गर्ने घोषणा गरेको छ ।
बजारमा अहिले चिनीको मूल्य प्रतिकिलो १५० देखि १६० रुपैयाँसम्म पुगेको छ । आउँदै गरेको दसैं–तिहारलाई लक्षित गर्दै भाटभटेनीले उपभोक्तालाई सहुलियत दिन चिनीको मूल्य घटाएको जनाएको छ ।
कम्पनीका अनुसार, देशभरका भाटभटेनीका स्टोरमा चिनी प्रतिकेजी ११० रुपैयाँमा उपलब्ध हुनेछ । भाटभटेनीका काठमाडौं उपत्यकाका साथै पूर्व मेचीदेखि पश्चिम धनगढीसम्म रहेका स्टोरबाट उक्त मूल्यमा चिनी खरिद गर्न सकिने जनाइएको छ ।
चाडपर्वको समयमा नेपाली परिवारमा चिनीको खपत बढ्ने भएकाले बजारमा मूल्यवृद्धिको प्रत्यक्ष असर उपभोक्तामा पर्ने गरेको छ । दसैं–तिहार नजिकिँदै गर्दा मिठाई, सेलरोटी, विभिन्न परिकार तथा अन्य खाद्य सामग्री बनाउन चिनीको मागसमेत बढ्ने गर्छ ।

