Banijya News

रसुवा बाढी पीडितका साना बीमा दाबी एक महिनाभित्रै फर्छ्यौट गर्ने तयारी

1
1.0K Shares

रसुवालगायतका क्षेत्रमा भदौ १० गते आएको बाढीपहिरोबाट क्षति पुगेका बीमितका साना बीमा दाबीलाई शीघ्र फर्छ्यौट गर्ने तयारी गरिएको छ । प्राकृतिक विपत्तिबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले ५ करोडदेखि १० करोड रुपैयाँसम्मका साना दाबी एक महिनाभित्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन लागिएको हो ।

नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैदवार क्षेत्रीले नेपाल बीमा प्राधिकरणसँग समन्वय गरी दाबी फछ्र्यौटसम्बन्धी संक्षिप्त कार्यविधि यसै साता पारित गराउने तयारी भइरहेको जानकारी दिएका छन् । कार्यविधि लागू भएपछि विपत्तिबाट प्रभावित साना तथा तत्काल राहत आवश्यक पर्ने बीमितका दाबीलाई लामो प्रक्रियामा अल्झिन नदिई छिटो भुक्तानी गर्न सहज हुने उनको भनाइ छ ।

क्षेत्रीका अनुसार दुर्घटना बीमा, मोटर बीमा, साना पसल तथा आवास बीमासम्बन्धी दाबीलाई प्राथमिकतामा राखेर द्रुत गतिमा फछ्र्यौट गर्ने प्रक्रिया अघि बढाइनेछ । यसका लागि आवश्यक कागजात तथा क्षतिको प्रारम्भिक मूल्यांकनलाई समेत सरल बनाउने गरी प्रक्रिया तय गरिने तयारी छ ।

यसैबीच, रसुवामा आएको बाढीपहिरोका कारण जलविद्युत् आयोजनाहरूमा भने ठूलो क्षति पुगेको क्षेत्रीले बताएका छन् । उनका अनुसार, माथिल्लो त्रिशूली, रसुवागढी, माथिल्लो तामाकोशी, लामटाङलगायत चार–पाँच ठूला जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको छ । यीबाहेक अन्य भौतिक संरचनामा समेत बाढीपहिरोले क्षति पुर्‍याएको छ ।

जलविद्युत् आयोजनामा भएको क्षतिको बीमा दाबी विगतमा नेपाली निर्जीवन बीमा कम्पनीहरूले व्यहोर्दै आएको दाबीको आकारभन्दा दुईदेखि चार गुणासम्म ठूलो हुनसक्ने प्रारम्भिक अनुमान गरिएको क्षेत्रीले बताए। आयोजनाको वास्तविक क्षतिको मूल्यांकन तथा दाबी प्रक्रिया अघि बढेपछि मात्रै कुल दायित्वको यकिन विवरण आउनेछ ।

ठूला जलविद्युत् आयोजनामा भएको क्षतिले नेपाली निर्जीवन बीमा कम्पनीको जोखिम वहन क्षमतामा समेत दबाब बढाउने देखिएको छ । ठूलो रकमका दाबी एकैपटक आउन सक्ने भएकाले कम्पनीहरूले आफ्नो जोखिम व्यवस्थापनमा थप सावधानी अपनाउनुपर्ने अवस्था आएको छ ।

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय पुनर्बीमा बजारमार्फत जोखिम हस्तान्तरण गर्नुपर्ने आवश्यकता अझ बढ्ने क्षेत्रीले बताएका छन् । ठूला पूर्वाधार तथा जलविद्युत् आयोजनाको बीमामा पुनर्बीमाको भूमिका महत्वपूर्ण हुने भएकाले आगामी दिनमा नेपाली बीमा कम्पनीले अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीसँगको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।

1

Scroll to Top