सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (ई–जीपी) अस्थायी रूपमा बन्द भएपछि बोलपत्र कागजात हार्डकपीमा बुझाउने व्यवस्था गर्न सार्वजनिक निकायलाई निर्देशन दिएको छ ।
कार्यालयले बुधबार जारी गरेको सूचनामा ई–जीपी प्रणालीमा सुरक्षा जोखिम उच्च देखिएपछि तत्कालका लागि प्रणाली स्थगन गरिएको जनाएको छ । प्रणालीमा देखिएको समस्या समाधान गर्दै मर्मत तथा सुधारको काम भइरहेको र यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
ई–जीपी प्रणाली पुनः सञ्चालनमा नआएसम्म सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ४८ को उपनियम (२) बमोजिम बोलपत्र कागजात प्राप्त गर्ने व्यवस्था मिलाउन कार्यालयले सार्वजनिक निकायलाई निर्देशन दिएको छ ।
यसअनुसार बोलपत्रदाताले अब बोलपत्र कागजात हुलाक, स्वयं उपस्थित भएर वा कुरियरमार्फत सम्बन्धित कार्यालयमा बुझाउन सक्नेछन् । बोलपत्र आह्वानसम्बन्धी कागजातमा पनि हार्डकपीमार्फत बोलपत्र बुझाउने व्यवस्था स्पष्ट रूपमा समावेश गर्न कार्यालयले आग्रह गरेको छ ।
हुलाकमार्फत पठाइने बोलपत्र कागजातसमेत कानुनले तोकेको समयसीमाभित्र सम्बन्धित कार्यालयमा दाखिला हुने व्यवस्था मिलाउनुपर्ने कार्यालयले जनाएको छ ।
ई–जीपी प्रणालीमा देखिएको सुरक्षा समस्या पूर्ण रूपमा समाधान भई प्रणाली पुनः सञ्चालनमा नआएसम्मका लागि यो वैकल्पिक व्यवस्था लागू हुने कार्यालयले स्पष्ट पारेको छ ।

