Banijya News

चिलिमे हाइड्रोको सुरुङमा तीन शव फेला

1
1.0K Shares

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि पुरिएको रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङभित्र खोजीका क्रममा तीन वटा शव फेला परेको छ । साथै, सोही सुरुङभित्र अर्को एउटा मानव अंग पनि भेटिएको छ ।

नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त खोज तथा उद्धार टोलीले बुधबार सुरुङभित्रबाट ती शव तथा मानव अंग निकालेको हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार, सुरुङभित्र करिब ७० मिटर प्रवेश गरेका गोताखोरको टोलीले तीन वटा सग्लो शव र एउटा मानव अङ्ग फेला पारेको हो ।

भोटेकोशीमा आएको विनाशकारी बाढीले चिलिमेसहित रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो । बाढीपछि चिलिमे हाइड्रोको सुरुङमा मानिस फसेको आशंकामा नेपाली सेना, सशस्त्र प्रहरीलगायतको टोलीले निरन्तर खोज तथा उद्धार गर्दै आएको छ ।

सुरुङभित्र लेदो, ठूला ढुंगा तथा अन्य अवरोधका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ। उद्धार टोलीले अवरोध हटाउँदै सुरुङको भित्री भागसम्म पुगेर खोजीलाई निरन्तरता दिइरहेको छ । बुधबार शव फेला परेसँगै सुरुङभित्र बेपत्ता भएकाहरूको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार कार्य थप केन्द्रित गरिएको छ ।

1

Scroll to Top