नेप्से परिसूचक आज विहीबार दोहोरो अंकले बढेर बन्द भएको छ । यसअघि तीन दिनमा १०२ अंक बढेको नेप्से हिजो बुधबार सामान्य करेक्सन भए पनि आज पुनः बढेको हो ।
आज नेप्से परिसूचक ११.९३ अंक बढेर २६२४.३६ विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक बढेको छ ।
१३ उपसमूहमध्य े११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशत बढेको छ । कारोबारमा आएको लगानी र अन्य उपसमूहको परिसूचक भने सामान्य अंक घटेको छ ।
नेप्से बढेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । हिजो बुधबार ५ अर्ब ३८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा विहीबार ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १२.४३ प्रतिशत बढेको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ । आज मूल्य घटेका स्टकहरुको गिरावटदर ३ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा विहीबार सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३३ करोड ६२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन् । त्यस्तै, शिवम् सिमेन्ट्सको कारोबार रकम २७ करोड रुपैयाँ नाघेको छ भने सोलु हाइड्रोपावरको करिब २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

