Banijya News

दुई महिनामै उठ्यो एक खर्ब ८४ अर्ब राजस्व, तर लक्ष्य अधुरै

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारले १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । उत्तरी नाकामा बाढीका कारण व्यापारिक गतिविधिमा अवरोध तथा १० असोजको विनाशकारी बाढीले राजस्व संकलनमा असर पर्ने देखिए पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजस्व वृद्धि भएको हो ।

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को भदौसम्म सरकारले १ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । यस आधारमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा गत वर्षको तुलनामा करिब २५ अर्ब ८७ करोड रुपैयाँ बढी राजस्व उठेको छ ।

चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै ९१ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको सोही महिनामा ७३ अर्ब ६१ करोड रुपैयाँ राजस्व उठेको थियो । गत वर्ष भदौको अन्तिम साता भएको जेनजी आन्दोलनका कारण राजस्व संकलन प्रभावित भएको थियो ।

यद्यपि, राजस्व संकलन बढे पनि सरकारले निर्धारण गरेको लक्ष्य भने पूरा भएको छैन । भदौसम्म २ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ मात्रै उठेको हो । यो लक्ष्यको ८५.९३ प्रतिशत हो ।

त्यस्तै, भदौ महिनाका लागि ९६ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो । तर, ९१ अर्ब ३८ करोड रुपैयाँ मात्रै संकलन हुँदा लक्ष्यको ९४.३३ प्रतिशत पूरा भएको छ । भदौ ३१ गते मात्रै सरकारले ५ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक छ ।

गत आर्थिक वर्षको भदौसम्म २ खर्ब १८ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य भए पनि १ खर्ब ५८ अर्ब रुपैयाँ मात्रै संकलन भएको थियो ।

सरकारले चालु आर्थिक वर्षमा कुल १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । तर, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी र उत्तरी नाकामा भएको अवरोधका कारण आगामी महिनाको राजस्व संकलनमा समेत दबाब पर्न सक्ने देखिएको छ ।

1

Scroll to Top