कामना सेवा विकास बैंक लिमिटेडले झापाको दमकस्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश तथा अन्य आकस्मिक उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण सहयोग गरेको छ । बैंकको दमक शाखामार्फत नेपाल रेडक्रस सोसाइटी दमक–७ लाई कार्डियो मोनिटर र सक्सन मेसिन हस्तान्तरण गरिएको हो ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले रेडक्रस सोसाइटीकी सभापति गोमादेवी प्रसाईं बुढाथोकीलाई उक्त उपकरण हस्तान्तरण गरेका थिए । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग प्रदान गरेको हो ।
उपकरणले विशेषगरी सर्पदंशका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको स्वास्थ्य अवस्था निगरानी तथा आकस्मिक उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्डियो मोनिटरले बिरामीको मुटुको गतिविधिलगायत स्वास्थ्य अवस्थाको निगरानी गर्न सहयोग गर्नेछ भने सक्सन मेसिन आकस्मिक श्वासप्रश्वाससम्बन्धी उपचारमा उपयोगी हुने बताइएको छ ।
उपकरण ग्रहण गर्दै सभापति बुढाथोकीले आकस्मिक उपचारका लागि आवश्यक उपकरण सहयोग गरेकोमा बैंकप्रति आभार व्यक्त गरिन् ।
प्रदेश प्रमुख भुसालले स्वास्थ्य सेवा समुदायको आधारभूत आवश्यकता भएकाले स्थानीयस्तरमा स्वास्थ्य स्रोतसाधनको पहुँच बढाउन सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिए । बैंकले उक्त सहयोगबाट दमक क्षेत्रका नागरिकलाई आकस्मिक स्वास्थ्य उपचारमा थप सहजता पुग्ने विश्वास व्यक्त गरेको छ ।

