‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको छ । असोज १ गतेदेखि सुरु भएको चार दिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन गरी गरेका हुन् ।
नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजनामा तथा नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा एक्स्पो सञ्चालन गरिएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले जग्गा तथा आवास क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रयासरत रहेको बताए । विशेषगरी रियल स्टेट व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको जग्गाको हदबन्दीलगायतका विषय समाधान गर्न आवश्यक पहल भइरहेको उनको भनाइ थियो । उनले प्रतिनिधि सभाको सभामुखको हैसियतले पनि सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ठूला व्यवसायीका समस्या मात्र नभई साना व्यवसायी तथा दूरदराजमा रहेका नागरिकका आवाससम्बन्धी समस्या समाधानमा समेत ध्यान दिनुपर्ने उनले बताए । विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशमा लगानी गर्ने वातावरण बनाउन र युवा पुस्तालाई नेपालमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने विश्वास दिलाउन निजी तथा सरकारी क्षेत्रले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भूकम्प, कोभिडलगायतका कठिन परिस्थितिमा समेत निजी क्षेत्रले अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको बताए । उनले घरजग्गा व्यवसाय अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यो क्षेत्र चलायमान हुँदा मात्र यससँग जोडिएका अन्य व्यवसायसमेत विस्तार हुने धारणा राखे ।
अग्रवालले निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य संवाहकका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै भृकुटीमण्डपस्थित प्रदर्शनी स्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिए वर्षभरि प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने बताए । साथै, विदेशी नागरिक, विशेषगरी गैरआवासीय नेपालीलाई नेपालमा अपार्टमेन्ट खरिद गर्न सहज हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे ।
नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले निजी क्षेत्रलाई विश्वास गरी ऐन तथा नियममा आवश्यक सुधार गर्न सके आवास तथा रियल स्टेट क्षेत्रमा थप काम गर्न सकिने बताए । जग्गाको हदबन्दीसम्बन्धी समस्या समाधान नभए व्यवसायीलाई कठिन अवस्था आउन सक्ने उल्लेख गर्दै उनले कित्ताकाटको दीर्घकालीन समाधान आवश्यक रहेको बताए ।
हालैको विनाशकारी बाढीबाट विस्थापित नागरिकको पुनर्वास तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा रियल स्टेट व्यवसायी सरकारसँग सहकार्य गर्न तयार रहेको कुँवरले बताए । उनले कृष्णभीर क्षेत्रमा पटकपटक पहिरो जाने समस्यालाई ध्यानमा राख्दै थानकोटदेखि शक्तिखोरसम्म निजी क्षेत्रको सहकार्यमा सुरुङमार्ग निर्माण गर्न सकिने धारणा पनि राखे । पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा यस्तो पूर्वाधार उपयोगी हुन सक्ने उनको भनाइ थियो ।
महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले दर्तावाल रियल स्टेट कम्पनीलाई जग्गाको हदबन्दीबाट छुट दिनुपर्ने माग गरे । उनले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढाउन लोन टु भ्यालु रेसियो ८० प्रतिशत पुर्याउनुपर्ने, तीन करोड रुपैयाँसम्मको घरजग्गा खरिदमा स्वघोषित आम्दानीको स्रोतलाई मान्यता दिनुपर्ने तथा रियल स्टेट क्षेत्रलाई उत्पादनमूलक उद्योगसरह मान्यता दिनुपर्ने नीतिगत माग अघि सारे ।
एक्स्पो आयोजना तथा तयारी समितिका संयोजक रोशन भोयध्योले प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहेको जानकारी दिए । उनका अनुसार एक्स्पो अवधिभर वास्तुशास्त्र, विपद् उत्थानशील पूर्वाधार, बाढीपीडितको पुनर्वास तथा सार्वजनिक–निजी साझेदारीमार्फत एकीकृत आवास विकासलगायत विषयमा प्राविधिक सेमिनार र प्यानल छलफल आयोजना गरिनेछ ।
असोज १ देखि ४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा घरजग्गा, आवास तथा निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा व्यवसायीको सहभागिता रहेको छ । प्रदर्शनी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहने आयोजकले जनाएको छ ।


