Banijya News

साझा यातायातमा अब नगदरहित यात्रा सकिने

1
1.0K Shares

साझा यातायातले आफ्ना सबै बसमा डिजिटल टिकटिङ तथा कमान्ड एन्ड कन्ट्रोल सेन्टर सञ्चालनमा ल्याएको छ । बिहीबारदेखि औपचारिक रूपमा सुरु गरिएको नयाँ प्रणालीसँगै साझा यातायातका १११ वटै बसमा यात्रुले कार्ड, क्यूआर तथा नगदमार्फत भाडा तिर्न सक्ने भएका छन् ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार, डिजिटल भुक्तानीका लागि सबै बसका सहचालकलाई पीओएस मेसिन उपलब्ध गराइएको छ । उक्त मेसिनमा जुनसुकै बैंकको भुक्तानी कार्ड प्रयोग गर्न सकिनेछ । साथै नेपालपेको क्यूआरसमेत राखिएकाले यात्रुले मोबाइल बैंकिङ वा विभिन्न वालेटमार्फत भाडा भुक्तानी गर्न सक्नेछन् ।

नगदमा भुक्तानी गर्न चाहने यात्रुका लागि भने टिकट उपलब्ध गराउने व्यवस्था यथावत् राखिएको छ । डिजिटल भुक्तानी गर्दा सरकारले निर्धारण गरेको भाडादरअनुसार रकम स्वतः देखिने भएकाले यात्रुले अतिरिक्त रकम तिर्नुपर्ने अवस्था नहुने कम्पनीले जनाएको छ ।

सीईओ अर्यालका अनुसार निर्धारित भाडा २२ रुपैयाँ भए पनि खुद्रा पैसाको अभावमा यात्रुले २५ रुपैयाँ तिर्नुपर्ने अवस्था आउने गरेको थियो। डिजिटल भुक्तानी गर्दा भने ठ्याक्कै तोकिएको रकम मात्रै तिर्न सकिने भएकाले यात्रुलाई आर्थिक रूपमा समेत सहज हुने उनको भनाइ छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न साझा यातायातले आगामी ६ महिनासम्म विभिन्न पुरस्कारसमेत वितरण गर्ने भएको छ । स्वचालित प्रणालीमार्फत लक्की ड्र गरेर विजेता छनोट गरिनेछ । हरेक दिन पाँच जनाले सीजी नेटको इन्टरनेटमा १ हजार रुपैयाँ छुट पाउनेछन् । यस्तै, हरेक महिना तीन जनाले तीन महिनासम्म निःशुल्क सीजी नेट इन्टरनेट प्राप्त गर्नेछन् ।

एमडब्लूसीका पावरबैंक, इयरबड्स र स्मार्टवाच पनि हरेक महिना तीन–तीन जनालाई प्रदान गरिनेछ । त्यस्तै, हरेक महिना दुई जनालाई रियलमीको फोन तथा एक जनालाई सीजी नेटको एक वर्षको इन्टरनेट सब्स्क्रिप्सन प्रदान गरिनेछ । हरेक महिनाको १, ११ र २१ गते विजेता घोषणा गरिने साझा यातायातले जनाएको छ ।

कन्ट्रोल सेन्टरबाट बसको निगरानी

साझा यातायातले बसको सञ्चालनलाई व्यवस्थित बनाउन कमान्ड तथा कन्ट्रोल सेन्टर पनि स्थापना गरेको छ । केन्द्रबाट २४सै घण्टा सबै बसको अवस्थिति, कुन बस कुन स्थानमा पुगेको छ र कुन स्टेसनमा कति समय रोकिएको छ भन्ने विवरण निगरानी गर्न सकिनेछ । यसका लागि चार जना कर्मचारी खटाइने कम्पनीले जनाएको छ । सबै बसमा ड्यासक्याम क्यामेरासमेत जडान गरिएको छ । ती क्यामेराबाट प्राप्त दृश्यलाई कन्ट्रोल सेन्टरमार्फत निगरानी गरिनेछ ।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले विगत १० वर्षदेखि नै संस्थालाई विद्युतीय तथा डिजिटल भुक्तानी प्रणालीमा लैजाने प्रयास हुँदै आएको बताए । डिजिटल टिकटिङ सुरु भएसँगै उक्त उद्देश्य कार्यान्वयनको चरणमा पुगेको उनको भनाइ छ ।

नगद कारोबारका कारण बसबाट भएको आम्दानीको सम्पूर्ण विवरण कम्पनीसम्म नपुग्ने र चुहावट हुने समस्या रहेको भन्दै उनले डिजिटल भुक्तानीले कारोबारलाई पारदर्शी बनाउने अपेक्षा व्यक्त गरे ।

प्राविधिक साझेदार कम्पनी ‘स्लास प्लस’का सीईओ क्षितिज कार्कीका अनुसार साझा यातायातका सबै बसमा २०७९ सालदेखि जीपीएस प्रणाली जडान गरी ट्रयाकिङ हुँदै आएको छ । ‘डिजिबस’ एपमार्फत यात्रुले बसको अवस्थिति हेर्न सक्नेछन् । उपत्यकाबाहिर सञ्चालन हुने लामो दूरीका बसमा घरबाटै टिकट बुक गर्न सकिने डिजिटल सेवा पनि सञ्चालनमा रहेको उनले जानकारी दिए ।

1

Scroll to Top