चालु आर्थिक वर्षको दोस्रो महिनामा देशभर भएको घरजग्गा कारोबार तथा लिखत पारितबाट सरकारले ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग मातहतका देशभरका १५८ वटा भूमि प्रशासन (मालपोत) कार्यालय तथा स्थानीय तहबाट संकलित एकीकृत तथ्यांकले घरजग्गा कारोबारबाट सरकारी आम्दानी उल्लेख्य रहेको देखाएको हो ।
विभागका अनुसार भदौमा संकलित राजस्वमा घरजग्गाको लिखत रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकरको हिस्सा सबैभन्दा ठूलो छ । देशभरबाट रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ९० करोड २१ लाख रुपैयाँ र पूँजीगत लाभकरबापत १ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ संकलन भएको छ ।
त्यस्तै, सेवा करबाट १६ करोड ८२ लाख रुपैयाँ, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट २ करोड ३ लाख रुपैयाँ तथा डोर सुविधा, विलम्ब शुल्क र रोक्का दस्तुरलगायतबाट करिब २ करोड ८० लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ ।
उपत्यकाबाट मात्रै २ अर्बभन्दा बढी
घरजग्गा कारोबारबाट संकलित कुल राजस्वमा काठमाडौं उपत्यकाका कार्यालयहरूको योगदान आधाभन्दा बढी छ । भदौमा उपत्यकाभित्रका ९ वटा भूमि प्रशासन कार्यालय तथा सम्बन्धित निकायबाट मात्रै २ अर्ब १६ करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
देशभरमै सबैभन्दा धेरै राजस्व संकलन गर्ने कार्यालयको सूचीमा भक्तपुर पहिलो स्थानमा छ । भक्तपुर भूमि प्रशासन कार्यालयले भदौमा ४९ करोड १६ लाख ९७ हजार ५२० रुपैयाँ राजस्व उठाएको छ । यसमध्ये रजिष्ट्रेशन दस्तुरबाट २२ करोड ११ लाख रुपैयाँ र पूँजीगत लाभकरबाट २५ करोड १४ लाख रुपैयाँ संकलन भएको छ ।
यसपछि ललितपुरको लगनखेल कार्यालयले ३८ करोड ८० लाख ७४ हजार ८०४ रुपैयाँ राजस्व संकलन गरेको छ । काठमाडौंका कलंकी, चावहिल र डिल्लीबजार कार्यालयले क्रमशः ३७ करोड १२ लाख ५५ हजार ८६६ रुपैयाँ, ३३ करोड ५५ लाख २६ हजार ४५ रुपैयाँ र ३१ करोड ४३ लाख ९४ हजार ८४४ रुपैयाँ राजस्व उठाएका छन् ।
त्यस्तै, साँखुबाट ११ करोड ६६ लाख, मनमैजुबाट १० करोड ५७ लाख, कागेश्वरी मनोहरा नगरपालिकाबाट १० करोड २६ लाख र टोखाबाट ९ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
उपत्यकाबाहिर पोखरा र इनरुवा अगाडि
उपत्यकाबाहिर पनि प्रमुख व्यापारिक तथा सहरी क्षेत्रमा घरजग्गा कारोबारबाट उल्लेख्य राजस्व उठेको छ । कास्कीको पोखरास्थित भूमि प्रशासन कार्यालयले भदौमा १६ करोड ८३ लाख ७ हजार ५६० रुपैयाँ राजस्व संकलन गरेको छ । यो उपत्यकाबाहिरका कार्यालयमध्ये सबैभन्दा धेरै हो ।
सुनसरीको इनरुवा कार्यालयले १५ करोड ४२ लाख १६ हजार ६८३ रुपैयाँ तथा रुपन्देहीको बुटवल कार्यालयले ११ करोड ८८ लाख १ हजार ८९ रुपैयाँ राजस्व संकलन गरेका छन् ।
चितवनले ९ करोड ४६ लाख, भैरहवाले ८ करोड ३६ लाख, विराटनगरले ७ करोड ७६ लाख, वीरगञ्जले ७ करोड ७२ लाख र भद्रपुरले ७ करोड ५१ लाख रुपैयाँ राजस्व उठाएका छन् । काभ्रेपलाञ्चोक र जनकपुरधामबाट समान ६ करोड ३८ लाख रुपैयाँका दरले राजस्व संकलन भएको छ भने बेलबारीबाट ६ करोड ५ लाख रुपैयाँ उठेको छ ।
दुर्गम क्षेत्रमा कारोबार न्यून
देशका प्रमुख सहरमा घरजग्गा कारोबारबाट उल्लेख्य राजस्व उठे पनि हिमाली तथा विकट पहाडी जिल्लामा भने कारोबार न्यून देखिएको छ ।
बाजुरा कार्यालयले भदौमा २२ हजार ६३३ रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । गोरखाको सिर्दिवासबाट २९ हजार ४०० रुपैयाँ, बझाङको झोताभैरवबाट ४५ हजार ७२८ रुपैयाँ, डडेल्धुराको जोगबुढाबाट ९९ हजार ६१४ रुपैयाँ र अछाम कार्यालयबाट १ लाख २८ हजार रुपैयाँ मात्र राजस्व उठेको छ ।
स्थानीय तहबाट पनि घरजग्गा कारोबारसँग सम्बन्धित राजस्व संकलन भएको छ । धनगढी उपमहानगरपालिकाले ३ करोड ४८ लाख रुपैयाँ उठाएको छ । कालिका नगरपालिकाबाट ७८ लाख, सैनामैनाबाट ७६ लाख, पुनर्वासबाट ५० लाख र ईश्वरपुरबाट ३९ लाख रुपैयाँ राजस्व संकलन भएको विवरणमा उल्लेख छ ।
समग्र तथ्यांकले भदौमा घरजग्गा कारोबारको राजस्वमा काठमाडौं उपत्यकासँगै पोखरा, इनरुवा, बुटवल, चितवन, विराटनगर, वीरगञ्जलगायतका प्रमुख सहरी केन्द्रको महत्वपूर्ण योगदान रहेको देखाएको छ । यद्यपि, हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा भने घरजग्गा कारोबारको गतिविधि अझै सीमित रहेको तथ्यांकले देखाएको छ ।

