Banijya News

अर्थतन्त्रको ऐना : बाह्य क्षेत्र बलियो, घरेलु अर्थतन्त्रमा दबाब कायमै

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको अर्थतन्त्रले मिश्रित संकेत दिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार रेमिट्यान्स आप्रवाह, विदेशी मुद्रा सञ्चिति, चालु खाता र शोधनान्तर स्थिति मजबुत देखिएका छन् । बैंकिङ प्रणालीमा ब्याजदर घटेको र निजी क्षेत्रतर्फको कर्जा प्रवाह गत वर्षको तुलनामा सकारात्मक बनेको छ ।

तर, आन्तरिक अर्थतन्त्रतर्फ भने चुनौती कायमै देखिएको छ । उपभोक्ता तथा थोक मुद्रास्फीति बढेको, आयात निर्यातभन्दा धेरै गतिमा विस्तार हुँदा व्यापार घाटा फराकिलो भएको, सरकारी पूँजीगत खर्च न्यून रहेको तथा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिँदा पनि कर्जा विस्तार सुस्त रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत मात्रै थियो । अर्थात् एक वर्षको अवधिमा मूल्यवृद्धिदर ४.२८ प्रतिशत विन्दुले बढेको छ ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति गत वर्ष ऋणात्मक २.२८ प्रतिशत रहेकोमा यस वर्ष ६.७७ प्रतिशत पुगेको छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति पनि ३.९५ प्रतिशतबाट बढेर ५.५२ प्रतिशत पुगेको छ ।

विशेषगरी घ्यू तथा तेलको मूल्य १५.६२ प्रतिशत, फलफूलको १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र यातायातको मूल्य १३.१७ प्रतिशतले बढेको छ । यसले उपभोक्ताको दैनिक खर्चमा प्रत्यक्ष दबाब बढाएको देखिन्छ ।

मूल्यवृद्धिको दबाब खुद्रा बजारमा मात्रै सीमित छैन । साउनमा थोक मुद्रास्फीति पनि गत वर्षको २.३७ प्रतिशतबाट बढेर ८.२७ प्रतिशत पुगेको छ । मध्यवर्ती वस्तुको थोक मूल्य १३.६२ प्रतिशत र निर्माण सामग्रीको मूल्य ४.८९ प्रतिशतले बढेको छ । थोक बजारमै मूल्यवृद्धि उच्च रहेकाले आगामी महिनामा उपभोक्ता बजारमा समेत यसको प्रभाव देखिन सक्ने जोखिम छ ।

विदेशी मुद्रा सञ्चिति ३९ खर्ब नजिक

बाह्य क्षेत्र भने साउनमा थप बलियो बनेको छ । असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको कुल विदेशी मुद्रा सञ्चिति साउन मसान्तमा १.२ प्रतिशतले बढेर ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा पनि सञ्चिति २५ अर्ब ३१ करोडबाट बढेर २५ अर्ब ८४ करोड डलर पुगेको छ । विद्यमान आयात प्रवृत्तिका आधारमा यो सञ्चितिले २१.८ महिनाको वस्तु आयात तथा १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।

बाह्य क्षेत्रको अर्को सकारात्मक पक्ष चालु खाता र शोधनान्तर बचत हो । गत वर्ष साउनमा ७८ अर्ब २९ करोड रुपैयाँ रहेको चालु खाता बचत यस वर्ष बढेर ९४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, शोधनान्तर बचत ८९ अर्ब ३० करोडबाट सामान्य बढेर ९० अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

प्रत्यक्ष वैदेशिक लगानीको इक्विटी आप्रवाह भने ६९ करोड १५ लाख रुपैयाँबाट बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ । वृद्धि देखिए पनि अर्थतन्त्रको आकारको तुलनामा यस्तो लगानी अझै न्यून रहेको तथ्यांकले देखाउँछ ।

रेमिट्यान्समा उल्लेख्य वृद्धि

साउनमा अर्थतन्त्रलाई सबैभन्दा ठूलो राहत विप्रेषण आप्रवाहबाट मिलेको छ । एक महिनामै २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको साउनको तुलनामा २१.२ प्रतिशतले बढी हो। गत वर्षको सोही महिनामा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेको छ । साउनमा १ अर्ब ४० करोड अमेरिकी डलर बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ ।

यद्यपि, वैदेशिक रोजगारीका लागि पहिलोपटक श्रम स्वीकृति लिने नेपालीको संख्या भने घटेको छ । गत वर्ष साउनमा ४४ हजार ४६६ जनाले पहिलोपटक श्रम स्वीकृति लिएकोमा यस वर्ष यस्तो संख्या ४२ हजार ६९३ मा झरेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या भने २३ हजार ६४४ बाट बढेर २७ हजार ७४८ पुगेको छ ।

सरकारको खर्च घट्यो, राजस्व बढ्यो

सरकारको वित्तीय गतिविधिमा पनि मिश्रित अवस्था देखिएको छ । साउनमा सरकारको कुल खर्च ९.५ प्रतिशतले घटेर ४१ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्षको साउनमा कुल खर्च ४६ अर्ब ३१ करोड रुपैयाँ थियो ।

कुल खर्च घटे पनि चालु खर्च भने १५.८ प्रतिशतले बढेर २१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । पूँजीगत खर्च ८२.९ प्रतिशतले बढेको देखिए पनि वास्तविक रकम १ अर्ब ३३ करोड रुपैयाँ मात्रै छ । अघिल्लो वर्षको निकै न्यून आधारका कारण प्रतिशत वृद्धि ठूलो देखिएको हो ।

सरकारको राजस्व संकलन भने ९.२ प्रतिशतले बढेर ९२ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यसमध्ये कर राजस्व ८५ अर्ब १९ करोड र गैरकर राजस्व ७ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।

साउनमै राजस्व संकलन कुल खर्चभन्दा दोब्बरभन्दा बढी भए पनि विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पूँजीगत खर्च अत्यन्त न्यून रहनुले सरकारी खर्चमार्फत आर्थिक गतिविधि विस्तार गर्ने क्षमता कमजोर रहेको देखाउँछ ।

आयातमा वृद्धि हुँदा बढ्यो व्यापार घाटा

साउनमा वस्तु निर्यात ६१.७ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । निर्यातमा उल्लेख्य सुधार आए पनि आयातको आकार निकै ठूलो हुँदा व्यापार घाटा थप फराकिलो भएको छ । यस अवधिमा वस्तु आयात ३१ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष साउनमा आयात वृद्धिदर ११.४ प्रतिशत मात्रै थियो ।

आयात तीव्र रूपमा बढ्दा व्यापार घाटा २४.९ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो घाटाको वृद्धिदर २.५ प्रतिशत मात्रै थियो ।
यद्यपि, निर्यात–आयात अनुपातमा सुधार भएको छ । गत वर्ष १६.७ प्रतिशत रहेको निर्यात–आयात अनुपात यस वर्ष २०.६ प्रतिशत पुगेको छ । तर निर्यात बढे पनि आयात मूल्य सूचक १४.५ प्रतिशतले बढ्दा व्यापारको सर्त ७ प्रतिशतले कमजोर भएको छ ।

बैंकमा अधिक तरलता, कर्जाको माग कमजोर

बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि निजी क्षेत्रतर्फ कर्जा विस्तार अपेक्षित गतिमा हुन सकेको छैन। साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २० अर्ब ७१ करोड रुपैयाँ अर्थात् ०.३ प्रतिशतले घटेर ८२ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँमा झरेको छ । तर वार्षिक आधारमा निक्षेप भने १४.५ प्रतिशतले बढेको छ ।

निजी क्षेत्रतर्फको कर्जा एक महिनामा २३ अर्ब ५८ करोड रुपैयाँ अर्थात् ०.४ प्रतिशतले बढेर ५८ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको साउनमा निजी क्षेत्रतर्फको कर्जा २ अर्ब ९३ करोड रुपैयाँले घटेको थियो । यस हिसाबले चालु आवको सुरुआत गत वर्षभन्दा केही सुधारिएको छ । तर, वार्षिक कर्जा वृद्धिदर ७ प्रतिशत मात्रै हुँदा निक्षेपको वृद्धिदर १४.५ प्रतिशत छ । अर्थात् बैंकमा जम्मा भएको रकमको तुलनामा कर्जा विस्तार आधाभन्दा पनि कम गतिमा भइरहेको छ ।

राष्ट्र बैंकले साउनमा २२ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको तरलता पटक–पटक प्रशोचन गर्नुपरेको थियो । साउन मसान्तमा समेत तरलता प्रशोचन उपकरणको बक्यौता १२ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यसले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जाको माग तथा लगानी विस्तार कमजोर रहेको संकेत गर्छ ।

यसैगरी, बैंकिङ क्षेत्रको ब्याजदर भने घटेको छ । वाणिज्य बैंकहरूको औसत आधारदर गत वर्षको ५.७८ प्रतिशतबाट घटेर ४.७२ प्रतिशतमा आएको छ । भारित औसत कर्जाको ब्याजदर पनि ७.७६ प्रतिशतबाट घटेर ६.४८ प्रतिशतमा झरेको छ ।

त्यस्तै, वाणिज्य बैंकको निक्षेपको भारित औसत ब्याजदर ४.०२ प्रतिशतबाट घटेर ३.१५ प्रतिशत भएको छ । विकास बैंकको औसत कर्जा ब्याजदर ९.०९ प्रतिशतबाट ७.७० प्रतिशत र फाइनान्स कम्पनीको ९.९८ प्रतिशतबाट ८.५२ प्रतिशतमा झरेको छ । कम ब्याजदरले निजी क्षेत्रको कर्जा माग बढाउने आधार तयार गरे पनि त्यसको प्रभाव वास्तविक लगानी र उत्पादनमा अझै स्पष्ट रूपमा देखिएको छैन ।

सेयर बजार पनि कमजोर

चालु आर्थिक वर्षको पहिलो महिनामा सेयर बजारसमेत गत वर्षको तुलनामा कमजोर देखिएको छ । साउन मसान्तमा नेप्से परिसूचक २६४३.८४ विन्दुमा रहेको छ । गत वर्षको साउन मसान्तमा नेप्से २७८८.३७ विन्दुमा थियो। यसरी एक वर्षमा परिसूचक करिब १४४.५३ विन्दु अर्थात् ५.२ प्रतिशतले घटेको छ ।

सेयर बजारको कुल बजार पूँजीकरण पनि ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँबाट घटेर ४५ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँमा झरेको छ । कुल गार्हस्थ उत्पादनसँग बजार पूँजीकरणको अनुपात ७५.१० प्रतिशतबाट घटेर ६८.९० प्रतिशत पुगेको छ ।

समग्रमा, चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको बाह्य क्षेत्रले बलियो आधार प्रस्तुत गरेको छ । रेमिट्यान्सको उच्च वृद्धि, विदेशी मुद्रा सञ्चितिको विस्तार, चालु खाता तथा शोधनान्तर बचतले बाह्य भुक्तानी क्षमता सहज देखाएको छ ।

तर, घरेलु अर्थतन्त्रमा भने चुनौती कायमै छन्। उच्च मुद्रास्फीति, थोक मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, न्यून पूँजीगत खर्च र अधिक तरलताबीच सुस्त कर्जा विस्तारले उत्पादन, लगानी र मागमा अपेक्षित गति आउन बाँकी रहेको संकेत गरेका छन् । आगामी महिनामा बाह्य क्षेत्रबाट प्राप्त सहजता आन्तरिक उत्पादन, निजी लगानी र आर्थिक गतिविधिमा कति रूपान्तरण हुन्छ भन्ने विषय अर्थतन्त्रको मुख्य चुनौती बन्ने देखिन्छ ।

1

Scroll to Top