सार्वजनिक यातायातलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अभियानअन्तर्गत साझा यातायातले डिजिटल टिकटिङ तथा भाडा संकलन प्रणालीलाई विस्तार गरेको छ । यसका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले साझा यातायातसँग पेमेन्ट पार्टनरका रूपमा सहकार्य गरेको छ ।
सहकार्यअन्तर्गत साझा बसमा यात्रा गर्ने यात्रुले बैंकका पीओएस (एइक्) मेसिनमार्फत कार्ड तथा अन्य डिजिटल माध्यमबाट भाडा भुक्तानी गर्न सक्नेछन् । यसले यात्रुलाई नगद बोक्नुपर्ने बाध्यता घटाउनुका साथै भाडा भुक्तानीलाई सहज, सुरक्षित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।
साझा यातायातले डिजिटल रूपान्तरणअन्तर्गत आधुनिक कमान्ड तथा कन्ट्रोल सेन्टरसहित विभिन्न प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याएको जनाएको छ । डिजिटल टिकटिङ प्रणालीमार्फत सार्वजनिक यातायातमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।
बैंकले आफ्नो डिजिटल भुक्तानी पूर्वाधार र सेवामार्फत साझा यातायातका यात्रुलाई सहज भुक्तानी अनुभव प्रदान गर्न सहजीकरण गर्ने जनाएको छ ।
साझा यातायात र बैंकबीचको यो सहकार्यले सार्वजनिक यातायातमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्नुका साथै टिकट तथा भाडा संकलन प्रक्रियामा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ । साथै, यात्रु सेवाको आधुनिकीकरणमा समेत यसले योगदान पुर्याउने विश्वास गरिएको छ ।

