Banijya News

ब्याजदर घटेपछि घरकर्जामा बैंकको आक्रामक अफर

1
1.0K Shares

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दै गएसँगै व्यक्तिगत घरकर्जाप्रति आकर्षण बढ्न थालेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’मा सहभागी बैंक तथा वित्तीय संस्थाले ६ प्रतिशतभन्दा कम ब्याजदरमै घरकर्जा योजना सार्वजनिक गरेका छन् ।

प्रदर्शनीमा चार वाणिज्य बैंक, चार विकास बैंक र एक फाइनान्स कम्पनी गरी नौ वित्तीय संस्था सहभागी छन् । उनीहरूले घरजग्गा खरिद तथा निर्माणका लागि विभिन्न अवधिका कर्जा योजना र ब्याजदर सार्वजनिक गरेका हुन् ।

सिद्धार्थ बैंकले सात वर्षसम्मका लागि ५.९९ प्रतिशत ब्याजदरमा घरजग्गा कर्जा उपलब्ध गराउने योजना ल्याएको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले स्थिर ब्याजदर ५.९९ प्रतिशत तथा परिवर्तनशील ब्याजदर ५.४६ प्रतिशतमा घरकर्जा दिने जनाएको छ ।

उता, लक्ष्मी सनराइज बैंकले २० वर्षसम्मको अवधिका लागि ५.४९ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराएको छ । उक्त योजनाअन्तर्गत ग्राहकले घरको मूल्यको ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसैगरी, प्रभु बैंकले ५.४४ प्रतिशत ब्याजदरमा घरकर्जा योजना ल्याएको छ । यस्तै, सिटिजन्स बैंकले पाँच वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने र त्यसपछि परिवर्तनीय ब्याजदरमा लैजान सकिने व्यवस्था गरेको छ ।

गरिमा विकास बैंकले ५.२३ प्रतिशत ब्याजदरमा १ प्रतिशत प्रिमियम थपिने गरी ७० प्रतिशतसम्म वित्तीय सुविधा दिने आवास कर्जा योजना ल्याएको छ । त्यस्तै, महालक्ष्मी विकास बैंकले ५.९९ प्रतिशतदेखि सुरु हुने ब्याजदर तथा सेवा शुल्कमा विशेष छुटसहित घरकर्जा योजना सार्वजनिक गरेको छ ।

गोर्खाज फाइनान्सले बेसरेटमा ०.५० प्रतिशत प्रिमियम थपेर घरकर्जा दिने जनाएको छ । कम्पनीको हालको बेसरेट ६.२१ प्रतिशत रहेको छ ।

प्रदर्शनीमा विपद्पछिको सुरक्षित आवास तथा एकीकृत आवास विकासबारे समेत छलफल भइरहेको छ । समग्र कर्जाको माग सुस्त रहेका बेला बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत घरकर्जालाई प्राथमिकता दिन थालेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म बैंक तथा वित्तीय संस्थाको व्यक्तिगत घरकर्जा ४ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ४ खर्ब १७ अर्ब ५७ करोड रुपैयाँको तुलनामा यो १३.५२ प्रतिशतले बढी हो ।

1

Scroll to Top