चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा विकास बैंकहरूको समग्र खुद नाफा घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन मसान्तसम्म सञ्चालनमा रहेका १७ विकास बैंकले कुल ६५ करोड ७९ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
गत आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्म विकास बैंकहरूले ६९ करोड ४० लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएका थिए । यस आधारमा चालु आर्थिक वर्षको पहिलो महिनामा विकास बैंकहरूको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ५.२० प्रतिशतले घटेको हो ।
आर्थिक गतिविधिमा देखिएको सुस्तता, कर्जा विस्तारमा अपेक्षित गति नआउनु तथा खराब कर्जाको दबाबका बीच विकास बैंकहरूको समग्र नाफा ६५ करोडभन्दा माथि कायम भएको हो । समीक्षाअवधिमा १७ मध्ये ९ विकास बैंकको नाफा बढेको छ भने ८ बैंकको नाफा घटेको तथ्यांकले देखाएको छ ।
साउनमा सबैभन्दा धेरै नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले १३ करोड ३३ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, गत आर्थिक वर्षको सोही अवधिमा कमाएको १५ करोड ७१ लाख रुपैयाँको तुलनामा यस वर्ष बैंकको नाफा १५.२० प्रतिशतले घटेको हो ।
दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले १२ करोड ७८ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको साउनमा १३ करोड ३९ लाख ७० हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यस वर्ष ४.५४ प्रतिशतले घटेको छ ।
त्यस्तै, महालक्ष्मी विकास बैंकले भने नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले साउन मसान्तसम्म १० करोड ८२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा ६ करोड ६ लाख ३० हजार रुपैयाँ नाफा रहेकोमा यस वर्ष ७८.५९ प्रतिशतले वृद्धि भएको हो ।
कामना सेवा विकास बैंकले ९ करोड ९९ लाख ५० हजार, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ९ करोड ५० लाख ७० हजार र ज्योति विकास बैंकले ८ करोड ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले ४ करोड ७४ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
अन्य बैंकमध्ये एक्सेल डेभलपमेन्ट बैंकले ५ करोड २४ लाख ८० हजार रुपैयाँ ऋणात्मक रहेको छ भने सिन्धु विकास बैंकले ३८ लाख ३० हजार, कर्णाली डेभलपमेन्ट बैंकले ८३ लाख ६० हजार ऋणात्मक रहेको छ । ग्रिन विकास बैंकले ५५ लाख १० हजार र सप्तकोशी डेभलपमेन्ट बैंकले १७ लाख ७० हजार रुपैयाँ नाफा कमाएका छन् ।
मितेरी डेभलपमेन्ट बैंकले ९४ लाख ६० हजार र लुम्बिनी विकास बैंकले ९१ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन् । लुम्बिनीको नाफा भने गत वर्षको ११ करोड ८ लाख रुपैयाँको तुलनामा ९१.७५ प्रतिशतले घटेको हो ।
नारायणी विकास बैंक गत वर्षको २८ लाख ४० हजार रुपैयाँ घाटाबाट यस वर्ष ११ लाख ९० हजार रुपैयाँ नाफामा फर्किएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकले १५ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ ।
यता, सालपा विकास बैंक ५ लाख ७० हजार रुपैयाँ घाटामा रहेको छ । उपलब्ध तथ्यांकअनुसार केही विकास बैंकको नाफामा सुधार देखिए पनि ठूला बैंकहरूको नाफामा आएको कमीका कारण समग्र क्षेत्रको नाफा गत वर्षको तुलनामा घटेको देखिन्छ ।

