काठमाडौँ उपत्यकामा रातिको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार गरिएको छ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा सञ्चालन हुँदै आएको रात्रिकालीन बस सेवा अब उपत्यकाका ६ प्रमुख रुटमा विस्तार भएको हो । विस्तारित सेवाअन्तर्गत ३० वटा बस सञ्चालनमा आउनेछन् ।
रात्रिकालीन सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले काठमाडौँ र ललितपुर महानगरपालिकासहित उपत्यकाका नौ स्थानीय तह कार्यक्रमसँग जोडिएका छन् । संविधान दिवसका अवसरमा स्थानीय तहका प्रमुख तथा साझा यातायातबीच भएको समझदारीपछि सेवा विस्तार गरिएको हो ।
सम्झौतामा काठमाडौँ र ललितपुर महानगरपालिकासँगै बुढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाको सहभागिता रहेको छ । साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
यसअघि लगनखेल–बुढानीलकण्ठ र नागढुंगा–एयरपोर्ट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बसमार्फत परीक्षण सेवा सञ्चालन हुँदै आएको थियो । परीक्षणपछि सेवा विस्तार गर्दै यी दुई रुटमा बसको संख्या बढाउनुका साथै थप चार रुटमा सेवा सञ्चालन गर्न लागिएको हो ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकलाई आधारभूत सेवाको पहुँच विस्तार गर्ने क्रममा रात्रिकालीन सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउँदै लगिएको बताएकी छन् । चार स्थानीय तहको सहकार्यबाट सुरु भएको कार्यक्रम अहिले नौ स्थानीय तहको सहभागितामा विस्तार भएको उनले बताइन् ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाको यातायात व्यवस्थापनका लागि संघीय तहबाट अपेक्षित रूपमा मेट्रो सञ्चालनको योजना अघि बढ्न नसकेपछि स्थानीय तहबाटै सम्भव प्रणाली विकास गर्न सहकार्य गरिएको बताएका छन् । साझा यातायातका अध्यक्ष प्याकुरेलले रातिको समयमा आवतजावत गर्ने सर्वसाधारणका लागि सुरक्षित र भरपर्दो सार्वजनिक यातायातको विकल्प विस्तार भएको बताए ।
कुन रुटमा कति बस ?
विस्तारित सेवाअन्तर्गत जगाती–सूर्यविनायक हुँदै ठमेल रुटमा ६ वटा बस सञ्चालन हुनेछन् । लगनखेल–बुढानीलकण्ठ रुटलाई गोदावरीसम्म विस्तार गरी ६ वटा बस चलाइनेछ ।
त्यस्तै, चक्रपथमा घडीको दिशामा र विपरीत दिशामा गरी ८ वटा बस सञ्चालन हुनेछन् । कीर्तिपुर–जमल रुटमा ४, टाखेल–ठमेल रुटमा २ तथा नागढुंगा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन हुनेछन् ।
चक्रपथमा सेवा विस्तार भएपछि यात्रुले एक स्थानमा बस परिवर्तन गरी उपत्यकाका विभिन्न रुटमा यात्रा गर्न सक्नेछन् । यस्तो यात्रामा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने व्यवस्था गरिएको छ ।
रात्रिकालीन बस सेवाको खर्च यात्रुबाट उठ्ने टिकट आम्दानीले नपुगेमा स्थानीय तहले वित्तीय दायित्वसमेत व्यहोर्नेछन् । खर्च अपुग भएमा ५० प्रतिशत रकम सम्बन्धित सात नगरपालिकाले समान रूपमा व्यहोर्नेछन् । बाँकी ५० प्रतिशत रकम जनसंख्याका आधारमा काठमाडौँ महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्ने सहमति भएको छ ।
यात्रु चढ्ने र ओर्लने स्थान सम्बन्धित स्थानीय तहले निर्धारण गर्नेछन् । आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्डसहित डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ ।
यसैगरी टिकट बिक्रीमा हुने आर्थिक चुहावट नियन्त्रण गर्न साझा यातायातले १ असोजदेखि डिजिटल टिकटिङ प्रणाली विकास गरेको छ । यात्रुले क्यूआरमार्फत वा नगद भुक्तानी गरेर टिकट लिन सक्नेछन् ।
साझा यातायातमा नेपाल सरकारको करिब ३ अर्ब रुपैयाँ र काठमाडौँ महानगरपालिकाको १५ करोड रुपैयाँ बराबरको सेयर लगानी रहेको छ । हाल साझा यातायातसँग १११ वटा बस रहेका छन् ।

