बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधान रहे पनि बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा उनीहरूको ठूलो रकम केन्द्रित हुँदै आएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनसम्म बैंकहरूको मुद्दति निक्षेपमा बीमा कम्पनीहरूको लगानी सामान्य वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनसम्म बीमा कम्पनीहरूले बैंकहरूको मुद्दति निक्षेपमा कुल ६ खर्ब ७३ अर्ब ५३ करोड ८ लाख रुपैयाँ लगानी गरेका छन् । गत आर्थिक वर्ष २०८२/८३ को साउनसम्म यस्तो लगानी ६ खर्ब ७१ अर्ब ५४ करोड २१ लाख रुपैयाँ रहेको थियो । यस आधारमा एक वर्षमा बीमा कम्पनीहरूको मुद्दति निक्षेपमा लगानी ०.२९ प्रतिशतले बढेको हो ।
हाल नेपालमा १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ४ लघु निर्जीवन बीमा, ३ लघु जीवन बीमा र २ पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । प्रचलित व्यवस्थाअनुसार बीमकहरूले वाणिज्य बैंक तथा पूर्वाधार बैंकको मुद्दति निक्षेपमा लगानीयोग्य रकमको ३० प्रतिशतसम्म, विकास बैंकमा १० प्रतिशतसम्म र फाइनान्स कम्पनीमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।
यसैबीच, बैंकहरूको मुद्दति निक्षेपमा कर्मचारी सञ्चय कोषको लगानी भने उल्लेख्य बढेको छ । साउनसम्म कोषले १ खर्ब ९५ अर्ब ५१ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्ष यस्तो लगानी १ खर्ब ७७ अर्ब ५० करोड ८ लाख रुपैयाँ थियो। यससँगै कोषको लगानी १०.१५ प्रतिशतले बढेको छ ।
नागरिक लगानी कोषले भने साउनसम्म बैंकहरूको मुद्दति निक्षेपमा १ खर्ब ५० अर्ब ७९ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोही अवधिमा १ खर्ब २९ अर्ब ८८ करोड २६ लाख रुपैयाँ रहेको थियो ।
यता बैंकहरूमा सर्वसाधारणको निक्षेप पनि बढेको छ । साउनसम्म सर्वसाधारणको कुल निक्षेप ५३ खर्ब ८४ अर्ब ६७ करोड ३७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.५५ प्रतिशत बढी हो ।

