Banijya News

खाने तेलको गुणस्तरमा कडाइ गर्दै सरकार, ‘सिधै खान नमिल्ने’ तेलमा चेतावनी अनिवार्य

1
1.0K Shares

सरकारले खाने तेलको गुणस्तर, उत्पादन प्रक्रिया, प्याकेजिङ तथा बजारमा हुने बिक्री–वितरणलाई थप व्यवस्थित गर्ने तयारी गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी, भटमास र सूर्यमुखी तेलका लागि परिमार्जित गुणस्तर मापदण्डको मस्यौदा तयार गर्दै खाद्य सुरक्षा र उपभोक्ता हितसँग सम्बन्धित व्यवस्थालाई थप कडा बनाउन लागेको हो ।

प्रस्तावित नयाँ मापदण्डले तेलको उत्पादन विधि र गुणस्तर मात्र नभई प्रत्यक्ष मानव उपभोगका लागि योग्य तथा थप प्रशोधनपछि मात्र प्रयोग गर्न मिल्ने तेलबीच स्पष्ट वर्गीकरण गर्ने व्यवस्था अघि सारेको छ । यसअनुसार उत्पादन र प्याकेजिङकै क्रममा तेलको प्रकृति पहिचान हुने गरी आवश्यक विवरण तथा चेतावनी उल्लेख गर्नुपर्नेछ ।

विभागको प्राविधिक समितिले तोरीको तेलका लागि ‘नेपाल गुणस्तर ०३ : २०३५ (दोस्रो संशोधन : २०८३)’ अन्तर्गत नयाँ विशिष्टीकरण तयार गरेको छ । प्रस्तावअनुसार तोरीको तेललाई उत्पादन विधिका आधारमा ‘एक्स्प्रेस’ र ‘सल्भेन्ट–एक्सट्रयाक्टेड’ गरी वर्गीकरण गरिनेछ ।

एक्स्प्रेस विधिबाट उत्पादित रिफाइन्ड, भर्जिन तथा एक्स्पेलर तेललाई प्रत्यक्ष मानव उपभोगका लागि योग्य मानिनेछ । त्यस्तै, सल्भेन्ट प्रक्रियाबाट उत्पादित रिफाइन्ड तोरीको तेल पनि सिधै खान मिल्ने श्रेणीमा राखिएको छ । तर सोही प्रक्रियाबाट उत्पादित ‘ग्रेड–१’ तेललाई थप प्रशोधन नगरी प्रत्यक्ष उपभोग गर्न नमिल्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रत्यक्ष खान नमिल्ने तेललाई उपभोक्तालाई लक्षित गरी साना प्याकेटमा बिक्री गर्नसमेत रोक लगाउने प्रस्ताव गरिएको छ । यस्ता तेल औद्योगिक प्रयोजन वा थप प्रशोधनका लागि मात्र प्रयोग गर्नुपर्नेछ । त्यस्तो तेल राखिएको कन्टेनरमा कम्तीमा ५० मिलिमिटर उचाइका ठूला अक्षरमा अंग्रेजी भाषामा ‘नट फर डाइरेक्ट इडिबल कन्जम्प्सन’ अर्थात् ‘सिधै खानका लागि होइन’ भन्ने चेतावनी अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।

नयाँ मापदण्डले तेलको प्रचार–प्रसारमा प्रयोग हुने शब्दावलीलाई समेत नियमन गर्ने भएको छ । उत्पादकले आफ्नो उत्पादन सामान्य तेलभन्दा असाधारण रूपमा स्वस्थ, सुरक्षित वा विशेष रहेको भ्रम सिर्जना गर्ने किसिमका शब्द प्रयोग गर्न नपाउने प्रस्ताव गरिएको छ ।

मस्यौदाअनुसार ‘सुपर–रिफाइन्ड’, ‘एक्स्ट्रा–रिफाइन्ड’, ‘माइक्रो–रिफाइन्ड’, ‘डबल–रिफाइन्ड’ र ‘अल्ट्रा–रिफाइन्ड’ जस्ता शब्द प्रयोगमा रोक लगाइनेछ । त्यसैगरी ‘एन्टी–कोलेस्टेरोल’, ‘कोलेस्टेरोल फाइटर’, ‘मुटुलाई शान्त पार्ने’, ‘कोलेस्टेरोल फ्रेन्डली’ तथा ‘स्याचुरेटेड फ्याट फ्री’ जस्ता स्वास्थ्यसम्बन्धी दाबी गर्ने शब्दावली पनि प्याकेजिङ र विज्ञापनमा प्रयोग गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ ।

तोरीको तेलमा हानिकारक पदार्थ मिसावट रोक्न पनि स्पष्ट व्यवस्था गरिएको छ । तेलमा आर्जेमोन मेक्सिकाना लगायत स्वास्थ्यका लागि हानिकारक पदार्थ वा अन्य अखाद्य तेल मिसिएको हुनु नहुनेछ । त्यस्तै, तेलको पेरोक्साइड भ्यालु अधिकतम १० मिलिइक्विभ्यालेन्ट कायम गर्नुपर्ने प्रस्ताव छ । सिसा, आर्सेनिक, क्याडमियम र पाराजस्ता विषाक्त धातुको मात्रा पनि तोकिएको सीमाभन्दा बढी हुन नहुने व्यवस्था राखिएको छ ।

भटमास तेलका लागि विभागले ‘नेपाल गुणस्तर १०३ : २०४२ (पहिलो संशोधन : २०८३)’ अन्तर्गत संशोधित मापदण्ड अघि सारेको छ । मस्यौदाले सल्भेन्ट एक्स्ट्र्याक्सन विधिबाट उत्पादित भटमास तेललाई रिफाइन्ड, डिगम्ड र ग्रेड–१ गरी विभिन्न श्रेणीमा विभाजन गरेको छ ।

यीमध्ये रिफाइन्ड भटमास तेललाई मात्र प्रत्यक्ष उपभोग गर्न मिल्ने तेलका रूपमा वर्गीकरण गरिएको छ । डिगम्ड र ग्रेड–१ तेललाई भने प्रत्यक्ष उपभोगका लागि नभई वनस्पति घिउ वा रिफाइन्ड तेल उत्पादन गर्ने कच्चापदार्थका रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यसकारण त्यस्ता तेललाई सामान्य उपभोक्ताले खरिद गर्ने खुद्रा प्याकेटमा राखेर बिक्री गर्न नपाइनेछ ।

प्रत्यक्ष उपभोगका लागि उपयुक्त नभएको भटमास तेलको कन्टेनरमा पनि स्पष्ट चेतावनी उल्लेख गर्नुपर्नेछ । मस्यौदाले खाद्य सुरक्षाका लागि भटमास तेलमा अफ्लाटक्सिनको अधिकतम सीमा ३० माइक्रोग्राम प्रतिकिलो तोकेको छ । रिफाइन्ड तेलमा हेक्सेनको मात्रा अधिकतम ५ पीपीएम र फस्फोरस अधिकतम १२ पीपीएम कायम गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

सूर्यमुखी तेलमा पनि उत्पादन प्रक्रिया र प्रयोगका आधारमा वर्गीकरण गर्ने व्यवस्था अघि सारिएको छ । विभागले विद्यमान मापदण्डको पहिलो संशोधनका लागि तयार गरेको मस्यौदामा सूर्यमुखी तेललाई एक्स्प्रेस र सल्भेन्ट एक्स्ट्र्याक्टेड गरी दुई मुख्य समूहमा विभाजन गरेको छ ।

एक्स्प्रेस प्रक्रियाबाट उत्पादित ग्रेड–१ तथा दुवै प्रक्रियाबाट प्राप्त रिफाइन्ड सूर्यमुखी तेललाई प्रत्यक्ष उपभोग गर्न मिल्ने श्रेणीमा राखिएको छ । तर सल्भेन्ट एक्स्ट्रयाक्टेड प्रक्रियाबाट उत्पादित ग्रेड–१ तेललाई थप प्रशोधन नगरी खान नमिल्ने व्यवस्था गरिएको छ । यस्तो तेल खुद्रा उपभोक्ताका लागि तयार पारिएको प्याकमा बिक्री गर्न नपाइने र कन्टेनरमा मेट्न नसकिने मसी प्रयोग गरी स्पष्ट चेतावनी लेख्नुपर्नेछ ।

सूर्यमुखी तेलमा कृत्रिम रङ वा कृत्रिम स्वाद मिसाउनसमेत नपाइने प्रस्ताव गरिएको छ । यसको पेरोक्साइड भ्यालु अधिकतम १० कायम गर्नुपर्नेछ भने अफ्लाटक्सिनको मात्रा ३० माइक्रोग्राम प्रतिकिलोभन्दा कम हुनुपर्ने सीमा तोकिएको छ ।

त्यसैगरी, खाने तेलको प्याकेजिङमा प्रयोग हुने कन्टेनरलाई पनि नयाँ मापदण्डको दायरामा ल्याइएको छ । उत्पादकले नेपाल गुणस्तर प्रमाणित टिन वा प्लास्टिकका कन्टेनर मात्र प्रयोग गर्नुपर्नेछ । एकपटक तेल वा अन्य सामग्री राखेर प्रयोग भइसकेका टिन तथा प्लास्टिकका भाँडालाई पुनः खाने तेल प्याक गर्न प्रयोग गर्न पूर्णरूपमा रोक लगाउने प्रस्ताव गरिएको छ ।

विभागले खाद्य वस्तुको प्याकेजिङमा प्रयोग हुने सामग्रीको स्वच्छता र सुरक्षा कायम गर्न यस्तो व्यवस्था अघि सारेको हो । यसले पुराना कन्टेनर सफा गरेर पुनः खाने तेल प्याक गरी बजारमा पठाउने अभ्यासलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

उत्पादनको पहिचान तथा ट्रेसिङ सहज बनाउन कन्टेनरको बाहिरी भागमा पनि अनिवार्य विवरण राख्नुपर्नेछ । उत्पादकको नाम तथा ठेगाना, ब्याच नम्बर, उत्पादन भएको महिना वा वर्ष र खुद तौल उपभोक्ताले सहजै पढ्न सक्ने गरी नेपाली वा अंग्रेजी भाषामा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

समग्रमा, प्रस्तावित मापदण्डले खाने तेलको गुणस्तर परीक्षणसँगै उत्पादन विधि, प्रत्यक्ष उपभोगयोग्यता, प्याकेजिङ, स्वास्थ्यसम्बन्धी दाबी, मिसावट नियन्त्रण र उत्पादनको पहिचानसम्मलाई एउटै नियामकीय ढाँचामा ल्याउन खोजेको छ । मापदण्ड कार्यान्वयनमा आएपछि उद्योगले उत्पादनको प्रकृति स्पष्ट रूपमा खुलाउनुपर्ने र उपभोक्ताले सिधै खान मिल्ने तथा थप प्रशोधन आवश्यक पर्ने तेल छुट्याउन सक्ने अवस्था बन्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top