नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज असोज ५ गतेको नियमित सेयर कारोबार स्थगित गरेको छ । ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डाटा सेन्टरमा आएको प्राविधिक समस्या समाधान नभएपछि नेप्सेले कारोबार रोक्ने निर्णय गरेको हो ।
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीका अनुसार डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो । समस्या समाधानका लागि प्रयास भइरहे पनि सोमबारसम्म समाधान हुन नसकेको आजको बजार बन्द गरिएको हो ।
यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएको नेप्सेले जनाएको छ । यही अवस्थालाई आधार बनाउँदै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो ।
त्यसपछि नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम आजको कारोबार स्थगित गरेको जनाएको छ ।

