Banijya News

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सञ्चार सुविधा विस्तार

1
1.0K Shares

नेपाल टेलिकमले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई लक्षित गर्दै राहत तथा सञ्चार सेवामा थप सुविधा उपलब्ध गराउने भएको छ ।

कम्पनीले रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका बाढी प्रभावित क्षेत्रसँगै पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणगढ सडक आसपासका प्रत्यक्ष प्रभावित नागरिकलाई विभिन्न सञ्चार सुविधा दिने व्यवस्था गरेको हो ।

बाढीका कारण क्षतिग्रस्त भई पुनः प्रयोग गर्न नसकिने अवस्थामा पुगेका एनटी फाइबरका केबल तथा राउटर निःशुल्क उपलब्ध गराई पुनः जडान गरिने टेलिकमले जनाएको छ । त्यस्तै, प्रभावित ग्राहकको एनटी फाइबर सेवा अवधि समाप्त भएको भए तीन महिनाको सेवा अवधि निःशुल्क थप गरिनेछ ।

बाढी प्रभावित क्षेत्रमा रहेका ग्राहकका नाममा दर्ता भएका सिमकार्ड पुनः वितरण गर्ने व्यवस्था पनि गरिएको छ । यसका लागि ग्राहकले सम्पर्क गरेका पाँचवटा नम्बर उपलब्ध गराउनुपर्नेछ । ती नम्बरको अन्तिम लोकेसन बाढी प्रभावित क्षेत्रमा रहेको हुनुपर्ने तथा सम्बन्धित नम्बरको केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने कम्पनीले जनाएको छ ।

बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्तिसँग सञ्चार सम्पर्क कायम गर्न नेपाली सेनाको समन्वयमा २१० थान सिमकार्डसमेत उपलब्ध गराइएको छ । ती सिमकार्ड विशेष प्याकेजसहित उपलब्ध गराइएको र विवरण अद्यावधिक गरी अभिलेख राख्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आईडीएमसीमा रहेको मुख्य सर्भर र ब्याकअप सर्भरबीच निःशुल्क ‘डार्क फाइबर–फिजिकल कनेक्टिभिटी’ स्थापना गरिएको टेलिकमले जनाएको छ ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सीएमसी–नेपाल) को टोल फ्री नम्बर १८१०५०००४०२ को तीन महिनासम्मको मासिक बिलसमेत निःशुल्क गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा राहत संकलन तथा व्यवस्थापनका लागि सम्बन्धित केन्द्रमा एक महिनासम्म १०० एमबीपीएस क्षमताको निःशुल्क इन्टरनेट उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालय भरतपुरको विपद् व्यवस्थापन युनिटलाई एक वर्षसम्म सोही क्षमताको निःशुल्क इन्टरनेट सेवा दिइनेछ ।

यसैगरी, प्रभावित क्षेत्रबाट सूचना, क्षतिको विवरण, राहत तथा उद्धारसम्बन्धी जानकारी, फिल्ड रिपोर्ट, फोटो र भिडियो समयमै संकलन तथा प्रवाह गर्न प्राधिकरणलाई एक वर्षसम्म उच्च गतिको निःशुल्क इन्टरनेट तथा प्राविधिक सहयोग उपलब्ध गराइएको छ ।

टेलिकमका अनुसार राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कर्मचारीको योगदानसहित विभिन्न शीर्षकमा यसअघि नै झन्डै २० करोड रुपैयाँ सहयोग गरिसकिएको छ । बाढीबाट कम्पनीको दूरसञ्चार पूर्वाधारमा समेत करोडौं रुपैयाँको क्षति पुगेको छ । क्षतिग्रस्त संरचना पुनर्निर्माण गरी सञ्चार सेवा पुनःस्थापनाको काम जारी रहेको कम्पनीले जनाएको छ ।

1

Scroll to Top