Banijya News

सेयर बजार अवरुद्ध हुनुको कारण खुल्यो, र्‍यान्समवेयर आक्रमणले हल्लायो कारोबार प्रणाली

1
1.0K Shares

नेपालको सेयर कारोबार प्रणालीमा देखिएको गम्भीर अवरोधको मुख्य कारण डेटा हब प्रालिको पूर्वाधारमा भएको र्‍यान्समवेयर आक्रमण रहेको औपचारिक रूपमा खुलेको छ । स्टक ब्रोकरहरूले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) होस्ट गरिएको डेटा हबको पूर्वाधारमा असोज ४ गते बिहान करिब ५ः३० बजे साइबर हमला भएको हो ।

डेटा हबका सहायक महाप्रबन्धक नबिनमुनि बज्राचार्यले असोज ५ गते नेप्सेको टीएमएस भेन्डर कम्पनी वाइको प्रालिलाई पठाएको पत्रमा र्‍यान्समवेयर आक्रमण भएको जानकारी गराएका छन् । पत्रअनुसार आक्रमण हुनुभन्दा करिब डेढ घण्टाअघि अर्थात् असोज ४ गते बिहान ४ बजेसम्मको सम्पूर्ण पूर्वाधारको पछिल्लो ब्याकअप सुरक्षित रहेको छ । उक्त ब्याकअपलाई सुरक्षित रूपमा छुट्टै राखिएको डेटा हबले जनाएको छ ।

तर, र्‍यान्समवेयर अन्य जोडिएका नेटवर्क तथा प्रणालीमा समेत फैलिएको हुन सक्ने आशंकाका कारण प्रभावित प्रणालीलाई तत्काल अनलाइनमा ल्याउन नसकिने डेटा हबले स्पष्ट पारेको छ । कम्पनीले घटनाको वास्तविक प्रभाव पहिचान गर्न फरेन्सिक अनुसन्धान, सुरक्षा परीक्षण तथा आवश्यक पुनःस्थापना प्रक्रिया पूरा गर्न समय आवश्यक रहेको जनाएको छ ।

टीएमएस नेप्सेको पूर्वाधारसहित अन्य सम्बन्धित प्रणालीसँग जोडिएकाले पर्याप्त प्राविधिक परीक्षण नगरी प्रणाली सञ्चालन गर्दा साइबर जोखिम थप फैलिन सक्ने डेटा हबको निष्कर्ष छ । त्यसैले टीएमएससँग जोडिएका अन्य संस्थालाई समेत घटनाबारे जानकारी गराउन वाइकोलाई आग्रह गरिएको छ ।

डेटा हबबाट जानकारी पाएलगत्तै वाइकोले स्टक ब्रोकर एसोसिएसन अफ नेपाललाई अत्यावश्यक सूचना पठाउँदै समस्या टीएमएसमा मात्र सीमित नरहेको जनाएको छ । वाइकोका अनुसार डेटा सेन्टर र नेप्सेबीच प्रत्यक्ष नेटवर्क कनेक्टिभिटी रहेकाले घटनाले समग्र कारोबार प्रणालीको साइबर सुरक्षा, सञ्चालन र तथ्यांकको अखण्डतामा जोखिम निम्त्याउन सक्छ ।

र्‍यान्समवेयर घटनाले टीएमएससँगै सीडीएससीसँग सम्बन्धित प्रणाली, पेमेन्ट गेटवे तथा अन्य अन्तरसम्बन्धित सेवामा समेत प्रभाव पार्न सक्ने जोखिम देखिएको वाइकोले जनाएको छ । सावधानीका लागि प्रभावित प्रणालीलाई अन्य नेटवर्कबाट अलग राखिएको छ ।

वाइकोले घटनाबाट भएको वास्तविक क्षति र यसको दायरा अझै मूल्यांकनकै क्रममा रहेको बताएको छ । यस्तो अवस्थामा बजार सञ्चालन गर्दा थप प्राविधिक तथा साइबर सुरक्षा जोखिम उत्पन्न हुन सक्ने भन्दै सम्बन्धित निकायलाई आवश्यक निर्णय लिन आग्रह गरिएको छ ।

दुवै कम्पनीका पत्रले सोमबार नियमित सेयर कारोबार सञ्चालन हुन नसक्नुको कारण सामान्य प्राविधिक समस्या नभई गम्भीर साइबर सुरक्षा घटना भएको पुष्टि गरेका छन् । यद्यपि, अहिलेसम्म लगानीकर्ताको व्यक्तिगत विवरण चोरी भएको, तथ्यांक नष्ट भएको वा ह्याकरले कुनै संवेदनशील विवरण बाहिर लगेको औपचारिक पुष्टि भने भएको छैन ।

फरेन्सिक अनुसन्धान पूरा नभएसम्म प्रभावित सर्भरको संख्या, तथ्यांकमा पुगेको क्षति, आक्रमणको वास्तविक दायरा तथा प्रणाली पूर्ण रूपमा कहिले पुनः सञ्चालन हुन्छ भन्ने विषय स्पष्ट हुन बाँकी छ ।

लाखौँ लगानीकर्ताको कारोबार तथा संवेदनशील विवरण जोडिएको नेपालको पुँजीबजारको पूर्वाधारमा भएको यस घटनाले साइबर सुरक्षा, डेटा ब्याकअप, नेटवर्क पृथकीकरण तथा विपद्पछिको प्रणाली पुनःस्थापनाको तयारीमाथि गम्भीर प्रश्न उठाएको छ ।

1

Scroll to Top