Banijya News

ग्यास अभाव समाधानका लागि सरकारको तीन तहको योजना

1
1.0K Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले आम नागरिकले भोगिरहेको ग्यास सिलिन्डरको समस्या समाधान गर्न सरकार गम्भीर भएर काम गरिरहेको बताएका छन् । मन्त्री नियुक्त भएपछि पहिलोपटक सदनमा उठेका प्रश्नको जवाफ दिँदै उनले ग्यासको आपूर्ति सहज बनाउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना अघि बढाइएको जानकारी दिए ।

मन्त्री साहका अनुसार ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले तीन तहको समाधानको ढाँचा तयार गरेको छ । त्यसअनुसार तत्काल नागरिकले भोगिरहेको अभाव कम गर्ने, मध्यकालमा आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउने र दीर्घकालमा दिगो समाधान सुनिश्चित गर्ने गरी काम अघि बढाइएको उनले बताए । ‘ग्यासको समस्या सम्बोधन गर्न मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार गरी सबै सामर्थ्य लगाएर काम गरिरहेको छ,’ मन्त्री साहले भने ।

उनले ग्यास अभावलाई कुनै एक कारण वा कुनै एउटा निकायको कमजोरीका रूपमा मात्र बुझ्न नहुने स्पष्ट पारे । ग्यास आपूर्तिमा देखिएको समस्या आपूर्ति व्यवस्था, पूर्वाधार, आर्थिक नीति तथा कानुन, वितरण प्रणाली, प्रविधि तथा प्रणाली, मानव संशाधन, सामाजिक अवस्था र अन्तर्राष्ट्रिय पक्षलगायत विभिन्न विषयसँग जोडिएको उनको भनाइ छ ।

मन्त्री साहले यी सबै पक्ष परस्पर जोडिएकाले ग्यास अभावलाई संयुक्त समस्याका रूपमा लिएर समाधान खोज्नुपर्ने बताए । उनका अनुसार, सरकारले तत्कालको समस्या समाधानसँगै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन व्यवस्थामा समेत ध्यान दिएको छ ।

ग्यास सिलिन्डरको आपूर्ति तत्काल सहज बनाउँदै दीर्घकालमा दिगो र व्यवस्थित व्यवस्था कायम गर्ने उद्देश्यले मन्त्रालयमा आन्तरिक समिति गठन गरिएको पनि उनले जानकारी दिए ।

उक्त समितिले ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्या पहिचान गर्ने र त्यसको समाधानका लागि आवश्यक मार्गनिर्देशन तयार गर्नेछ । समितिको सुझावका आधारमा मन्त्रालयले आपूर्ति प्रणाली सुधार, वितरण व्यवस्थापन तथा दीर्घकालीन नीतिगत उपाय अघि बढाउने तयारी गरेको छ ।

1

Scroll to Top