प्रभु बैंक लिमिटेडले ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ । बैंकले विदेशमा रही काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै उक्त घर कर्जा योजना ल्याएको हो ।
यस योजनामार्फत प्रवासी नेपालीलाई आफ्नो घर तथा जग्गा खरिदसम्बन्धी आवश्यकताका लागि सहज, प्रतिस्पर्धी तथा सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने बैंकको उद्देश्य रहेको छ ।
प्रवासी नेपालीबाट प्राप्त विप्रेषणलाई बैंकिङ प्रणालीमार्फत थप प्रभावकारी रूपमा परिचालन गर्दै उनीहरूको दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले यो योजना ल्याइएको हो । योजनाले प्रवासी नेपालीलाई घर तथा जग्गा खरिदका लागि आवश्यक वित्तीय स्रोतमा सहज पहुँच प्रदान गर्नुका साथै बैंकसँग दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यस योजना अन्तर्गत घर कर्जाका लागि अधिकतम सिमा रु. ३ करोड सम्मका लागि कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेगरी कर्जाको सेवा शुल्क मात्र ०.५०% तथा ब्याजदर औसत आधार दरमा थप ०.५०% प्रतिवर्ष मात्र कायम गरिएको छ भने यस सुविधा देशभरीका ३०० वटा शाखामार्फत उपलव्ध गराइने छ ।
यस योजना अर्न्तगत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत साथै जग्गा खरिद गर्न चाहने ग्राहकहरूलाई सहज र सरल रुपमा वित्तीय पहुँच उपलब्ध गराइने छ । साथै, यस योजनामा ग्राहकहरुले बढीमा २ जना सन्तानका लागि नेपाल वा विदेशमा अध्ययन गर्न औसत आधार दरमा थप १% प्रतिवर्ष ब्याजदरमा शैक्षिक कर्जा सुविधा तथा कर्जा प्रशासनिक शुल्कमा ५०% छुट गरिएको छ । साथै, पहिलो वर्ष निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ उपलव्ध गराइएको छ ।
यस योजनाले विदेशमा कार्यरत तथा बसोबास गर्ने नेपाली नागरिकलाई आफ्नो तथा परिवारको भविष्यका लागि आवासीय सम्पत्ति निर्माण/खरिद गर्न आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने विश्वास बैंकले लिएको छ । साथै, प्रवासी नेपालीबाट बैंकिङ प्रणालीमा आउने विप्रेषणलाई औपचारिक माध्यमबाट परिचालन गर्दै निक्षेप अभिवृद्धि, उत्पादनशील कर्जा प्रवाह तथा दीर्घकालीन ग्राहक सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउने बैंकको अपेक्षा रहेको छ ।

