चितवनसहित देशका विभिन्न क्षेत्रमा केराको उत्पादन बढे पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन् । बजारमा मागअनुसार बिक्री हुन नसक्दा केराको मूल्य करिब आधाले घटेको छ भने कतिपय किसानको बारीमै केरा बिग्रिन थालेको छ ।
नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार केही दिनयता केराको मूल्य अस्वाभाविक रूपमा घटेको हो । यसअघि प्रतिकोसा रु. ९ सम्ममा बिक्री हुँदै आएको केरा अहिले रु. ३ देखि ४ सम्ममा बिक्री गर्न किसान बाध्य छन्। उत्पादन बढे पनि बजार व्यवस्थापन प्रभावकारी हुन नसक्दा किसानले लागतअनुसारको मूल्यसमेत पाउन नसकेको उनको भनाइ छ ।
नेपालमा हाल करिब २३ हजार बिघा क्षेत्रफलमा केराखेती हुँदै आएको छ । एक बिघामा करिब दुई हजार बेर्ना रोप्न सकिन्छ भने एउटा बिरुवाबाट १०० देखि २०० कोसासम्म केरा उत्पादन हुने बताइएको छ । पछिल्लो समय नेपाल केरामा आत्मनिर्भर बनेको महासंघको दाबी छ ।
गत वर्ष सरकारले केरा आयात रोक्ने निर्णय गरेपछि किसान उत्साहित भएर खेती विस्तार गरेका थिए । गत असोज ६ गते आयात रोक्ने निर्णय भएकोमा पुस ६ गतेदेखि उक्त व्यवस्था कार्यान्वयनमा आएको थियो । आयात रोकिएपछि किसानले थप करिब तीन हजार बिघामा केराखेती विस्तार गरेका छन् । उत्पादन वृद्धि भएपछि आगामी वर्ष नेपालबाट केरा निर्यात गर्न सकिने अपेक्षा पनि गरिएको छ ।
हाल काठमाडौं, पोखरा, नेपालगञ्जलगायत ठूला बजारमा केराको मूल्य घटेको छ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी तथा सडक अवरोधका कारण राजधानीलगायत बजारमा केरा पठाउन कठिन भएपछि पनि बजारमा मूल्य प्रभावित भएको किसानहरूको भनाइ छ ।
केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोले किसानबाट सस्तोमा केरा उठाएर बजारमा महँगोमा बिक्री गर्ने प्रवृत्तिले किसानलाई थप मर्कामा पारेको बताए। उनका अनुसार उपभोक्ताले भने अहिले पनि जी–नाइन जातको केरा प्रतिदर्जन रु. १०० भन्दा बढीमा खरिद गरिरहेका छन् ।
पूर्वी चितवनको रत्ननगर–१२ का किसान शंकर सुवेदीले बाढीका कारण विभिन्न बजारसम्म उत्पादन पुर्याउन नसक्दा मूल्य घटेको बताए । उनले ६४ बिघा क्षेत्रफलमा केराखेती गरेका छन् । यस वर्षदेखि बाह्रै महिना उत्पादन दिने जातको केरा लगाउन थालेको उनले बताए ।
नेपालमा हाल करिब नौ लाख मेट्रिक टन केरा उत्पादन हुने अनुमान छ । दसैँ, तिहार र छठसम्म माग बढेसँगै मूल्यमा सुधार आउने तथा फागुनपछि मूल्य अझ बढ्ने किसानको अपेक्षा छ । चितवनको सुपरजोन क्षेत्रमा मात्रै करिब एक हजार ८५० हेक्टरमा केराखेती हुँदै आएको छ, जुन देशको कुल केराखेती क्षेत्रफलको करिब १५ प्रतिशत हो ।
किसानका अनुसार उत्पादन लागतभन्दा कम मूल्यमा केरा बिक्री गर्नुपर्ने अवस्था अन्त्य गरी बजार व्यवस्थापन, ढुवानी र बिक्री वितरण प्रणाली सुधार गर्न सके नेपाल केरामा दीर्घकालीन रूपमा आत्मनिर्भर बन्न सक्छ । नेपालमा मालभोग, जी–नाइन र चिनी चम्पा जातका केरा मुख्य रूपमा उत्पादन हुँदै आएका छन् ।

