Banijya News

डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमणबारे छानबिन गर्दै धितोपत्र बोर्ड

1
1.0K Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणालीमा प्राविधिक समस्या देखिएर सोमबार सेयर कारोबार नै स्थगित भएपछि नेपाल धितोपत्र बोर्डले घटनाको निरीक्षण तथा छानबिनका लागि पाँच सदस्यीय टोली गठन गरेको छ ।

नेप्सेबाट सेयर दलाल व्यवसायीको अनुमति प्राप्त ९२ कम्पनीमध्ये ७२ वटा ब्रोकर कम्पनीको सर्भर राखिएको डेटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि नियमित कारोबार प्रभावित भएको थियो । एउटै डेटा सेन्टरमा आएको समस्याका कारण ठूलो संख्यामा ब्रोकरको कारोबार प्रणाली प्रभावित भएपछि समग्र सेयर बजारको कारोबार नै स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

नेप्सेले डेटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम रहेको भन्दै असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको जानकारी बोर्डलाई गराएको थियो । कारोबार प्रणालीको निरन्तरतामा समस्या आउन सक्ने अवस्था देखिएपछि बजार सञ्चालन रोकिएको नेप्सेको भनाइ छ ।

घटनालाई गम्भीर रूपमा लिँदै बोर्डले आवश्यक अध्ययन तथा जाँचबुझ गरी प्रतिवेदन पेस गर्न निरीक्षण टोली गठन गरेको हो । बोर्डका अनुसार, उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय टोली बनाइएको छ ।

टोलीलाई डेटा सेन्टरमा देखिएको प्राविधिक समस्याको वास्तविक कारण पहिचान गर्न, त्यसका कारण कारोबार स्थगित गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्नेबारे अध्ययन गर्न तथा घटनाका प्राविधिक र व्यवस्थापकीय पक्षको जाँच गर्न जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, भविष्यमा यस्ता प्राविधिक समस्या दोहोरिन नदिन आवश्यक सुधार तथा जोखिम व्यवस्थापनका उपायसमेत टोलीले सुझाउनुपर्नेछ । बोर्डले टोलीलाई असोज १२ गतेभित्र अध्ययन तथा निरीक्षणको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

एकै स्थानमा रहेको डेटा सेन्टरमा समस्या आउँदा अधिकांश ब्रोकर कम्पनीको कारोबार प्रणाली प्रभावित हुनु र त्यसको प्रत्यक्ष असर समग्र सेयर बजार सञ्चालनमा पर्नुले नेपालको धितोपत्र बजारको प्राविधिक पूर्वाधारप्रति नयाँ प्रश्न उठाएको छ । विशेषगरी डेटा सेन्टरको क्षमता, प्रणालीको सुरक्षा, जोखिम व्यवस्थापन, वैकल्पिक पूर्वाधार तथा आपत्कालीन अवस्थामा कारोबार सञ्चालन गर्न सकिने प्रणालीको प्रभावकारिताबारे अध्ययन आवश्यक देखिएको छ ।

सेयर कारोबार निरन्तर सञ्चालनका लागि प्राविधिक पूर्वाधार महत्वपूर्ण हुने भएकाले यस्तो समस्या दोहोरिन नदिन आवश्यक सुधारका विषयमा बोर्डले प्रतिवेदनपछि थप कदम चाल्ने जनाएको छ ।

निरीक्षण टोलीले पेस गर्ने प्रतिवेदनका आधारमा नेपालको धितोपत्र बजारलाई थप स्वस्थ, सुरक्षित र पारदर्शी बनाउन आवश्यक निर्णय तथा सुधारका काम अघि बढाइने बोर्डले जनाएको छ । बोर्डले घटनाबारे सरोकारवाला सबै पक्षलाई समेत जानकारी गराएको छ ।

सेयर कारोबार प्रणालीमा देखिएको गम्भीर अवरोधको मुख्य कारण डेटा हब प्रालिको पूर्वाधारमा भएको र्‍यान्समवेयर आक्रमण रहेको खुलेको छ । स्टक ब्रोकरहरूले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) होस्ट गरिएको डेटा हबको पूर्वाधारमा असोज ४ गते बिहान करिब ५ः३० बजे साइबर हमला भएको हो ।

1

Scroll to Top