रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा भदौ १० गते आएको बाढी र त्यसपछि गएको पहिरोका कारण नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५ सय रुपैयाँ बराबरको प्रारम्भिक आर्थिक क्षति भएको अनुमान गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी छलफलमा नेपाल पर्यटन बोर्डको द्रुत प्रतिकार्य टोलीका संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले प्रारम्भिक क्षतिको विवरण प्रस्तुत गरेका हुन् ।
प्रतिवेदनअनुसार बाढीपहिरोबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाको पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापन क्षेत्रमा ठूलो असर परेको छ ।
क्षेत्रगत रूपमा होटल व्यवसाय सबैभन्दा बढी प्रभावित भएको छ । होटल क्षेत्रमा मात्रै १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै, वैदेशिक पर्यटन आम्दानीतर्फ १४ अर्ब ६० करोड २४ लाख ६४ हजार रुपैयाँ र मानव बल तथा पर्यटक व्यवस्थापनमा १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, सम्पदा तथा पर्यटन पूर्वाधारमा १ अर्ब ६६ करोड ४० लाख रुपैयाँ, सवारीसाधनमा १ अर्ब ५१ करोड ४० लाख ८० हजार रुपैयाँ र रेस्टुरेन्ट क्षेत्रमा १ अर्ब ३८ करोड ५० लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ ।
त्यस्तै, लामटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ १ अर्ब २७ करोड ६४ लाख ४० हजार रुपैयाँ, आन्तरिक पर्यटन राजस्वमा १९ करोड ८७ लाख रुपैयाँ, र्याफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख रुपैयाँ र ट्रेकिङ ट्रेलमा ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
बाढीपहिरोका कारण पर्यटन गतिविधिसँग जोडिएका नेपाली तथा विदेशी नागरिकसमेत प्रभावित भएका छन् । प्रतिवेदनअनुसार कुल १ हजार ११७ नेपाली तथा विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएका थिए । तीमध्ये ३१० जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना सम्पर्कमा आएका छन् ।
अझै ७९४ जना सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख छ । सम्पर्कविहीनमध्ये ६०६ जना विदेशी र १८८ जना नेपाली नागरिक रहेका छन् ।
बाढीपहिरोले पर्यटन व्यवसाय, पूर्वाधार र पर्यटक आवागमनमा पारेको प्रभावका कारण प्रभावित क्षेत्रको पर्यटन पुनरुत्थानका लागि तत्कालीन तथा दीर्घकालीन योजना आवश्यक रहेको छलफलमा जोड दिइएको छ । प्रारम्भिक क्षतिको विवरणका आधारमा पुनर्निर्माण, पर्यटकीय पूर्वाधारको पुनःस्थापना र पर्यटन गतिविधिलाई क्रमशः सामान्य अवस्थामा फर्काउने विषयमा मन्त्रालय तथा सम्बन्धित निकायले छलफल अघि बढाएका छन् ।

