चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालका बीमा कम्पनीहरूले ३२ अर्ब रुपैयाँभन्दा बढीको कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ जीवन, १४ निर्जीवन, ३ लघु जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीले साउनमा कुल ३२ अर्ब २ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्
गत आर्थिक वर्ष २०८२/८३ को साउनमा बीमा कम्पनीहरूले २४ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । यस आधारमा एक वर्षको अवधिमा बीमा व्यवसाय ३१.१५ प्रतिशतले बढेको देखिएको छ ।
कुल बीमाशुल्क संकलनमा जीवन बीमा कम्पनीहरूको हिस्सा ठूलो रहेको छ । चालु आर्थिक वर्षको साउनमा जीवन बीमा कम्पनीहरूले २६ अर्ब ६२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ३२.९७ प्रतिशत बढी हो । गत वर्ष साउनमा जीवन बीमा कम्पनीहरूले २० अर्ब २ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
जीवन बीमा व्यवसायअन्तर्गत प्रथम र नवीकरण बीमाशुल्क दुवै बढेको छ । साउनमा जीवन बीमा कम्पनीहरूले ४ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन गरेका छन् । गत वर्षको साउनमा यस्तो बीमाशुल्क ३ अर्ब ६३ करोड २८ लाख रुपैयाँ थियो । यस वर्ष प्रथम बीमाशुल्क ३४.७५ प्रतिशतले बढेको हो ।
त्यस्तै, साउनमा नवीकरण जीवन बीमाशुल्क २१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीहरूले १६ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका थिए । यस आधारमा नवीकरण बीमाशुल्क ३२.५८ प्रतिशतले वृद्धि भएको छ ।
यता, निर्जीवन बीमा कम्पनीहरूले पनि व्यवसाय विस्तार गरेका छन् । चालु आर्थिक वर्षको साउनमा निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब ४० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । गत वर्ष साउनमा यस्तो बीमाशुल्क ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा निर्जीवन बीमा व्यवसाय २२.८५ प्रतिशतले बढेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
बीमालेख संख्यामा भने विभिन्न प्रकारका बीमाबीच फरक प्रवृत्ति देखिएको छ । म्यादी, लघु म्यादी तथा वैदेशिक रोजगार बीमालेखबाहेक जीवन बीमालेख संख्या साउनसम्म ५९ लाख ९४ हजार ९५३ पुगेको छ । यो गत वर्षको ५७ लाख ४२ हजार ७३५ को तुलनामा ४.३९ प्रतिशत बढी हो ।
तर, म्यादी तथा लघु म्यादी जीवन बीमालेख संख्या ६३ लाख १ हजार ८७५ मा सीमित भएको छ । गत वर्ष यस्तो बीमालेख संख्या ७५ लाख २४ हजार ३९४ थियो। यसमा १६.२५ प्रतिशतले कमी आएको छ ।
त्यस्तै, वैदेशिक रोजगार जीवन बीमालेख संख्या पनि घटेको छ । साउनसम्म यस्तो बीमालेख संख्या १९ लाख ४३ हजार ६९३ रहेको छ । गत वर्ष यो संख्या २६ लाख १९ हजार २३६ थियो। यसअनुसार वैदेशिक रोजगार बीमालेख २५.७९ प्रतिशतले घटेको छ ।
प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउनसम्म कुल जारी जीवन बीमालेख संख्या ७ लाख ४१ हजार ५२१ तथा निर्जीवन बीमालेख संख्या २ लाख ५४ हजार ६०७ रहेको छ ।

