साताको पहिलो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्से परिसूचक मंगलबार पनि बढेर बन्द भएको हो ।
आज मंगलबार नेप्से परिसूचक ७.०६ अंक बढेर २६५४.२८ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ ।
आज १३ उपसमूहमध्ये सात उपसमूहको परिसूचक बढेको छ भने छ उपसमूहको परिसूचक घटेको छ । आज अन्य उपसमूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज मंगलबार ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ७९ रुपैयाँ बढेर ६०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन् ।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत् कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । स्नो रिभर्सको शेयरमूल्य सर्वाधिक ८.२३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज हाथवे इन्भेष्टमेन्ट नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४४ करोड ४० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको करिब साढे ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने घलेम्दी हाइड्रोको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ ।

