चाडपर्वका बेला बजार मूल्य नियन्त्रण गर्न विगतका वर्षमा सहुलियत दरमा खसी, बोका तथा च्याङग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने यस्तो कार्यक्रम सञ्चालन नगर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजेट अभावका कारण दसैंमा खसी–च्याङग्रा बिक्री नगर्ने जनाएको हो ।
कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार चालु आर्थिक वर्षमा खसीबोका खरिदका लागि बजेट विनियोजन भएको छैन । त्यसैले, यस वर्ष काठमाडौं उपत्यकामा सहुलियत दरमा चौपाया ल्याएर बिक्री गर्ने योजना नरहेको उनले बताएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विगतमा दसैंको समयमा बजारमा खसी, बोका तथा च्याङ्ग्राको माग बढ्ने र मूल्यसमेत उकालो लाग्ने भएकाले बजार हस्तक्षेपका रूपमा सहुलियत मूल्यमा चौपाया बिक्री गर्दै आएको थियो । कम्पनीको बिक्रीले बजार मूल्य सन्तुलनमा राख्न सहयोग पुग्ने अपेक्षा गरिन्थ्यो ।
आर्थिक वर्ष २०८१ को दसैंमा कम्पनीले १ हजार ५ सय खसी–बोका र ३ सय च्याङ्ग्रा काठमाडौं ल्याएर सहुलियत मूल्यमा बिक्री गरेको थियो । त्यति बेला जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र च्याङग्राको मूल्य प्रतिकिलो १ हजार २३० रुपैयाँ निर्धारण गरिएको थियो । उपभोक्तालाई प्रतिकिलो १० रुपैयाँ छुटसमेत दिइएको थियो ।
गत वर्ष कम्पनीले च्याङ्ग्रा बिक्रीका लागि अनलाइन बुकिङको व्यवस्था पनि गरेको थियो । तर, पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा खसी–च्याङ्ग्रा काठमाडौं ल्याउन नसकिएपछि बुकिङ रद्द गर्नुपरेको थियो ।
चौपाया खरिद–बिक्री केन्द्रका अनुसार यस वर्ष दसैंमा काठमाडौं उपत्यकामा मात्रै करिब ३५ हजारदेखि ४० हजारसम्म खसी, बोका तथा च्याङ्ग्राको माग हुने अनुमान छ । सरकारले सहुलियत बिक्री नगर्ने भएपछि यस वर्ष दसैंको माग निजी व्यवसायी तथा बजार आपूर्तिमै निर्भर हुने भएको छ । बजारमा सरकारी हस्तक्षेप नहुँदा दसैंको समयमा मूल्यमा कस्तो प्रभाव पर्छ भन्ने चासो बढेको छ ।

