घरायसी र व्यावसायिक प्रयोजनमा एउटै तौल र मूल्यको एलपी ग्यास प्रयोग हुँदै आएको अवस्थामा सरकारले व्यावसायिक क्षेत्रका लागि ठूलो क्षमताको सिलिन्डर प्रयोगमा ल्याउने तयारी थालेको छ । यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छुट्टै अध्ययन समिति गठन गरेर काम अघि बढाएको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित समितिमा नेपाल गुणस्तर तथा नापतौल विभाग, भन्सार विभाग, नेपाल आयल निगम र ग्यास उद्योगीका प्रतिनिधि सहभागी छन् । समितिले व्यावसायिक प्रयोजनमा हाल प्रयोग हुँदै आएको १४.२ केजी क्षमताको सिलिन्डरको विकल्पमा ठूलो क्षमताको सिलिन्डर प्रयोग गर्न सकिने विषयमा अध्ययन गरिरहेको छ ।
समितिले १५ दिनभित्र प्रतिवेदन तयार गर्ने तयारी गरेको छ । अध्ययनमा विशेषगरी ४५० केजी क्षमताको सिलिन्डरलाई व्यावसायिक प्रयोजनमा प्रयोगमा ल्याउने विषयलाई आधार बनाइएको छ ।
नेपालमा हाल घरायसी उपभोक्तादेखि रेस्टुरेन्ट, होटल तथा पाँचतारे होटलसम्म १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डर प्रयोग हुँदै आएको छ । घरायसी र व्यावसायिक प्रयोजनका लागि मूल्यसमेत समान रहेकाले सरकारले घरायसी उपभोक्ताका लागि उपलब्ध गराउँदै आएको अनुदानको हिस्सा व्यावसायिक क्षेत्रमा समेत जाने गरेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार कुल एलपी ग्यास खपतको करिब ७० प्रतिशत घरायसी र ३० प्रतिशत व्यावसायिक क्षेत्रमा प्रयोग हुन्छ । कुल खपतको झण्डै एकतिहाइ ग्यास व्यावसायिक क्षेत्रले प्रयोग गरे पनि उसले घरायसी उपभोक्ताकै दरमा ग्यास पाउँदै आएको छ । यसले राज्यको अनुदानको भार बढाएको निगमको भनाइ छ ।
हाल एलपी ग्यासमा प्रतिसिलिन्डर ४११ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । उक्त घाटा अनुदानमार्फत समायोजन हुँदै आएको छ । घरायसी र व्यावसायिक प्रयोजनमा एउटै मूल्य कायम हुँदा वार्षिक करिब ७ देखि ८ अर्ब रुपैयाँ अनुदानमा खर्च भइरहेको निगमको दाबी छ । व्यावसायिक प्रयोजनका लागि छुट्टै तौल र मूल्य निर्धारण गर्न सके अनुदानको भार घटाउन सकिने अपेक्षा गरिएको छ ।
हाल १४.२ केजी एलपी ग्यास सिलिन्डरको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ छ । यो मूल्य घरायसी उपभोक्तादेखि ठूला होटलसम्मका लागि समान छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले भने घरायसी तथा व्यावसायिक प्रयोजनका लागि ५ केजी, १४.२ केजी, १९ केजी र ४५० केजी क्षमताका सिलिन्डर प्रयोग गर्न सकिने मापदण्ड तयार गरिसकेको छ ।
ठूलो क्षमताको सिलिन्डर प्रयोग गर्ने अभ्यास छिमेकी भारतमा समेत छ । इन्डियन आयल कर्पोरेसनअन्तर्गतको इन्डियन ब्रान्डले ‘जम्बो सिलिन्डर’ नाममा ४५० केजी क्षमताको सिलिन्डर बजारमा ल्याएको छ । होटल, रेस्टुरेन्ट र क्यान्टिनमा यस्ता सिलिन्डर प्रयोग हुँदै आएका छन् । सुपरग्यासले ‘म्याक्सिमा’ र टोटल इनर्जीले ‘मिनी बल्क’ सेवामार्फत पनि ४५० केजी क्षमताको एलपी ग्यास उपलब्ध गराउँदै आएका छन् ।
सरकारले व्यावसायिक क्षेत्रमा छुट्टै प्रणाली लागू गर्न सके घरायसी उपभोक्ताका लागि दिइने अनुदानलाई लक्षित गर्न सहज हुने अपेक्षा गरेको छ । साथै ठूलो क्षमताको सिलिन्डर प्रयोगले व्यावसायिक क्षेत्रको ग्यास आपूर्ति र व्यवस्थापनलाई समेत व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

